विकट ढोरपाटनमा केन्द्रीय विद्युत् लाइन विस्तार

mayukarajkumari

बागलुङ,

नेपालको
एकमात्र सिकार आरक्षका रूपमा परिचित ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पहिलोपटक केन्द्रीय प्रसारण लाइन पुगेको छ। भौगोलिक रूपमा विकट क्षेत्र भएकाले हालसम्म यहाँ केन्द्रीय विद्युत् पुग्न सकेको थिएन। यसअघि ढोरपाटन उपत्यकासहित आसपासका बस्तीहरू लघुजलविद्युत् आयोजनाको भरमा विद्युत् सेवा लिँदै आएका थिए।

नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट करिब ३५ किलोमिटर पश्चिममा रहेको ढोरपाटनसम्म ११ केभी क्षमताको विद्युत् लाइन विस्तार गरेको हो। प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीका अनुसार अघिल्लो वर्षदेखि विद्युत् पोल गाड्ने लाइन तान्ने काम सुरु गरिएको थियो भने बिहीबारदेखि नियमित रूपमा विद्युत् प्रसारण सुरु गरिएको छ।

प्राधिकरणका अनुसार ढोरपाटनसम्म केन्द्रीय विद्युत् पुर्याउन करिब १५ करोड रुपैयाँ खर्च भएको छ। लाइन पुगेपछि अब स्थानीय बासिन्दाका घरघरमा विद्युत् जडान गर्ने काम अघि बढाइने प्रमुख मरासिनीले जानकारी दिनुभयो। उहाँका अनुसार बुर्तिबाङमा केही वर्षअघि मात्र केन्द्रीय लाइन पुगेको थियो भने त्यसपछि अधिकारीचौर हुँदै अहिले ढोरपाटनसम्म विस्तार गरिएको हो।

यस क्षेत्रका बासिन्दाले हालसम्म ४० किलोवाट क्षमताको गर्पाखोला लघुजलविद्युत् आयोजना ६० किलोवाट क्षमताको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनाबाट सीमित विद्युत् सेवा पाउँदै आएका थिए। तर उत्पादन कम भएकाले स्थानीयले पर्याप्त विद्युत् प्रयोग गर्न नपाएको ढोरपाटन नगरपालिकाका वडाध्यक्ष खिमबहादुर घर्तीमगरले बताउनुभयो।

उहाँका अनुसार ढोरपाटन उपत्यकाको सलथान, बिजौलीखोला, छन्तुङ खाल्डेखुल्डेलगायत क्षेत्रका करिब २५० भन्दा बढी घरमा हालसम्म विद्युत् पुगेको छैन। अब केन्द्रीय लाइन आएसँगै ती बस्तीमा पनि क्रमशः विद्युत् जडान गरिने बताइएको छ। धेरै घरमा अझै पनि टुकी दियालोको भरमा रात बिताउनुपर्ने अवस्था रहेको भन्दै अब यो समस्या क्रमशः समाधान हुने अपेक्षा गरिएको छ।

ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनका अनुसार पर्याप्त विद्युत् अभावका कारण होटल व्यवसाय सञ्चालनमा समस्या हुँदै आएको थियो। स्थानीय लघुजलविद्युत्को सीमित क्षमताका कारण हिटर, कपडा धुने मेसिनजस्ता विद्युतीय उपकरण प्रयोग गर्न नसकिएको उहाँले बताउनुभयो। ढोरपाटन क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले हिटरको आवश्यकता वर्षभरि रहने भए पनि पर्याप्त विद्युत् नहुँदा प्रयोग गर्न नसकिएको उहाँको भनाइ छ।

पछिल्लो समय ढोरपाटन क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै गएकाले केन्द्रीय विद्युत् पुगेपछि होटल तथा पर्यटन व्यवसायलाई ठूलो राहत पुग्ने व्यवसायीहरूको अपेक्षा छ। विद्युत् प्राधिकरणले छेन्तुङसम्म लाइन विस्तार गरिसकेको भने सिकार आरक्ष कार्यालय, आर्मी ब्यारेक विद्यालयहरूमा पनि विद्युत् जडान गर्ने तयारी गरिएको छ। पहिलोपटक केन्द्रीय लाइन पुगेपछि स्थानीयवासीहरू निकै उत्साहित भएका छन्।

प्रतिक्रिया