पैदलयात्रुमाथि कुटपिट गर्ने कार चालक पक्राउ

mayukarajkumari

काठमाडौँ

एक कार चालकले पैदलयात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ। आज बिहानदेखि भिडियो व्यापक रूपमा फैलिन थालेपछि सर्वत्र आलोचना भएको थियो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार कुटपिट गर्ने व्यक्ति बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय पारस बम रहेका छन्। उनलाई खोजी अभियान सञ्चालन गरी नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनी पेशाले इञ्जिनियर रहेको खुलेको छ। थप कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको अधिकारीले जानकारी दिनुभयो। भाइरल भिडियोमा नारायणगोपाल चोकमा गाडी रोकिएको बेला कारबाट ओर्लिएर सडकमा हिँडिरहेका एक व्यक्तिलाई हातपात गरेको देखिन्छ।

बा३च ११०३ नम्बरको निजी जिप चालकले सार्वजनिक स्थलमा पैदलयात्रीमाथि दुर्व्यवहार गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उनलाई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको र अनुसन्धानका लागि सात दिनको म्याद थप भएको काठमाडौँ प्रहरीका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

प्रतिक्रिया