भोजपुर,
भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्। यो समयमा रोपिएको खुर्सानी छिट्टै उत्पादन दिने भएकाले किसानहरू खेती विस्तारमा लागेका छन्। विशेषगरी भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रका किसानहरू व्यावसायिक रूपमा अकबरे खुर्सानीखेतीमा सक्रिय देखिएका छन्।
किसानहरूले बारीमा मल्चिङ प्रविधि प्रयोग गरी खुर्सानीखेती गर्दै आएका छन्। यस प्रविधिले बिरुवाको वृद्धि राम्रो हुने, झारपात कम उम्रने र गोडमेल गर्न सजिलो हुने भएकाले किसानहरूले यसको प्रयोग बढाएका छन्। भोजपुर नगरपालिका–५ का किसान कमला थापाका अनुसार अहिले बोखिम क्षेत्रका किसान जमिन तयारी, मल्चिङ प्लास्टिक बिछ्याउने र बेर्ना सार्ने काममा व्यस्त छन्।
अकबरे खुर्सानीबाट राम्रो आम्दानी लिन सकिने भएकाले विगत केही वर्षदेखि किसानहरूले यसलाई व्यावसायिक रूपमा खेती गर्दै आएका छन्। सडक पहुँच विस्तार भएपछि उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ, जसले गर्दा हरेक वर्ष खुर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उनीहरूको भनाइ छ।
भोजपुरमा विशेषगरी पौवादुङ गाउँपालिकामा अकबरे खुर्सानीको बढी खेती हुने गरेको छ। यसबाहेक भोजपुर नगरपालिका, अरुण गाउँपालिका र षडानन्द नगरपालिकाका किसानहरूले पनि व्यावसायिक रूपमा खुर्सानीखेती गर्दै आएका छन्। टेम्केमैयुङ र रामप्रसादराई गाउँपालिकामा समेत सीमित मात्रामा खेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी घनश्याम बरालले जानकारी दिनुभयो।
कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार गत आर्थिक वर्ष जिल्लामा करिब ६०९ हेक्टर क्षेत्रफलमा खुर्सानीखेती गरिएको थियो। पछिल्लो समय अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या र खेती क्षेत्र दुवै बढ्दै गएको कार्यालयले जनाएको छ।