अमेरिका
पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले यौन अपराधी जेफ्री एपस्टिन सम्बन्धी कागजात सार्वजनिक गर्ने विषयमा “ढाकछोप” गरेको आरोप लगाएकी छन्। जर्मनीको बर्लिनमा बीबीसीसँगको अन्तर्वार्तामा उनले सबै फाइल पूर्ण रूपमा सार्वजनिक गर्न माग गर्दै प्रक्रिया जानाजान ढिलाइ गरिएको बताइन्।
यसै महिनाको सुरुमा अमेरिकी न्याय विभागले एपस्टिनसम्बन्धी लाखौँ कागजात सार्वजनिक गरे पनि सांसदहरूले अझै पर्याप्त विवरण नआएको दाबी गरेका छन्। न्याय विभागले भने कानुनअनुसार आवश्यक सबै सामग्री सार्वजनिक गरिसकेको जनाएको छ।
अन्तर्वार्ताका क्रममा क्लिन्टनले एपस्टिनसँग सम्बन्धबारे सोधपुछ गर्न बोलाइएमा सबैले बयान दिनुपर्ने बताइन्। एपस्टिनसँग सम्बन्ध जोडिएका बेलायती राजपरिवारका सदस्य प्रिन्स एन्ड्रुले भने कुनै पनि गलत कार्य नगरेको दाबी गर्दै आएका छन्।
सन् २०१९ मा जेलमै मृत्यु भएका एपस्टिन मानव बेचबिखनसम्बन्धी मुद्दाको सुनुवाइ कुर्दै थिए। उनीसँग सम्बन्ध रहेको भन्दै विभिन्न राजनीतिक व्यक्तित्वमाथि दबाब बढिरहेको छ। क्लिन्टन दम्पती पनि संसदीय समितिमा सार्वजनिक सुनुवाइमा उपस्थित हुने तयारीमा छन्।
यता अमेरिकी राष्ट्रपतिको कार्यालयले हजारौँ पृष्ठ कागजात सार्वजनिक गरेर पीडितका लागि विपक्षी दलभन्दा बढी काम गरेको दाबी गरेको छ। ट्रम्पले पनि आफूमाथि लगाइएका आरोप असत्य भएको र एपस्टिनसँग कुनै सम्बन्ध नभएको बताएका छन्।