काठमाडौँ,
नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री पल कपुरले यहाँ सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लगानीका सम्भावना र सहकार्य विस्तारबारे उद्योग क्षेत्रका नेतृत्वकर्तासँग छलफल गर्नुभएको छ। सोमबार आयोजित कार्यक्रममा डिजिटल पूर्वाधार विस्तार तथा सुदृढीकरण, कृत्रिम बुद्धिमत्ताको प्रयोग वृद्धि र साइबर सुरक्षालाई मजबुत बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै अमेरिकी प्रविधिगत दक्षता नेपालसँग साझेदारी गर्ने उपायबारे समेत विचारविमर्श भएको जनाइएको छ।
उक्त अवसरमा नेपालमा सूचना प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माण, नवप्रवर्तन प्रवर्द्धन र दिगो डिजिटल विकासका लागि सहकार्य बढाउने विषयमा सहभागीहरूबीच सहमति खोजिएको थियो।
यसैबीच, अमेरिकी सहायक विदेशमन्त्री कपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पनि भेटवार्ता गर्नुभएको छ। भेटपछि सामाजिक सञ्जालमार्फत उहाँले लामिछानेसँग भेटघाट गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नयाँ सरकारमा रास्वपाका प्राथमिकताबारे जानकारी लिने अवसर मिलेको बताउनुभएको छ। साथै अमेरिका–नेपाल सहकार्यका सम्भावित क्षेत्रहरूबारे पनि सकारात्मक छलफल भएको उहाँले जनाउनुभएको छ।
अमेरिकी सहायक विदेशमन्त्री कपुर सोमबार नै काठमाडौँ आइपुग्नुभएको हो।