काठमाडौं,
प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभा बैठक बस्ने तय भएको छ। राष्ट्रियसभाको बैठक भने सङ्घीय संसद् सचिवालयस्थित कक्षमा बस्नेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते अधिवेशन आह्वान गर्नुभएको थियो। संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिसहित सम्पूर्ण तयारी पूरा भइसकेको छ।
आजको बैठकमा तीनवटा अध्यादेश पेस हुने कार्यसूची रहेको छ। गृहमन्त्री सुधन गुरुङले मतदाता नामावली, प्रतिनिधिसभा सदस्य निर्वाचन र नेपाल विशेष सेवा सम्बन्धी संशोधन अध्यादेशहरू प्रस्तुत गर्ने सम्भावना छ। बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरू पढेर सुनाउनुहुनेछ।
यसैगरी, प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि विद्यमान नियमावलीअनुसार कामकारबाही अघि बढाउने प्रस्ताव पनि प्रस्तुत गरिनेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि सदस्य मनोनयन गर्ने र सभामुख निर्वाचनको मिति तोक्ने कार्यसूची पनि रहेको छ। अधिवेशन प्रारम्भका अवसरमा विभिन्न दलका सांसदहरूले मन्तव्य राख्नेछन्।
प्रतिनिधिसभामा कुल २७५ सदस्य रहेका छन्। बैठकको अन्त्यमा पूर्वसंविधानसभा तथा राष्ट्रियसभा सदस्यहरूको निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गरिनेछ।