काठमाडौँ,
विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल तथा कानुनले निषेध गरेका स्थानमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन नगर्न अनुरोध गरेको छ।
सरकारले सबै प्रकारका बेटिङ एप तथा वेबसाइट बन्द गर्ने निर्णय यही चैत १३ गतेको मन्त्रिपरिषद्को बैठकमा गरेको हुँदा बोर्डले गैरकानुनी रूपमा विज्ञापन प्रकाशन वा प्रसारण भएको अवस्थामा तत्काल रोक्न र सरोकारवालालाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।
बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले भनेका छन् कि बन्द गरिएका एप र वेबसाइटमा विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन भए प्रचलित कानुन अनुसार कारबाही हुने भएकाले यस्ता गतिविधि भए बोर्डमा छिटो उजुरी दिन अनुरोध गरिएको छ।
विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ अनुसार जुवा खेल्न वा खेलाउन प्रोत्साहन गर्ने वा अनुमति नलिएको सामग्री किनबेच गर्न प्रोत्साहित गर्ने विज्ञापन गर्न नहुने व्यवस्था भएको पनि बोर्डले स्मरण गराएको छ।