पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभावले रात्रिकालीन खेल सञ्चालन प्रभावित

mayukarajkumari

गण्डकी, 

पोखरा
रङ्गशालामा ‘फ्लड लाइट’ अभावका कारण रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालन गर्ने प्रयास सफल हुन सकेको छैन। गत माघ २७ देखि फागुन गतेसम्म आयोजित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितालाई राति खेलाउने प्रयास गरिए पनि पर्याप्त प्रकाशको व्यवस्था हुन नसक्दा अधिकांश खेल दिउँसोमै सञ्चालन गर्नुपरेको थियो। उद्घाटन खेल अस्थायी ‘फ्लड लाइट’को सहायताले खेलाइएको भए पनि मैदानमा पर्याप्त उज्यालो नपुगेको गुनासो खेलाडी दर्शकबाट आएपछि बाँकी खेल दिउँसो सारिएको आयोजकले जनाएको छ।

प्रतियोगिताका आयोजक सहारा क्लब पोखराले पहिलोपटक पोखरामा रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यसहित अस्थायी ‘फ्लड लाइट’ जडान गरी प्रयास गरेको थियो। क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार पहिलोपटक भएको प्रयासमा केही प्राविधिक समस्या देखिए पनि यसले पोखरा रङ्गशालामा स्थायी ‘फ्लड लाइट’ जडान गर्नुपर्ने आवश्यकताबारे सम्बन्धित निकायलाई सकारात्मक दबाब दिएको छ। अन्तरराष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न रात्रिकालीन खेल सञ्चालनका लागि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य भएको उहाँले बताउनुभयो।

अध्यक्ष थापाका अनुसार ठूलो लगानीमा निर्माण गरिएको पोखरा रङ्गशालामा अझै ‘फ्लड लाइट’ जडान हुन नसक्नु दुर्भाग्यपूर्ण अवस्था हो। तत्कालीन भौतिक पूर्वाधार विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले गत मङ्सिरमा रङ्गशाला निरीक्षणका क्रममा ‘फ्लड लाइट’ जडानको योजना अघि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो। यद्यपि विभिन्न कारण देखाउँदै हालसम्म योजना कार्यान्वयन हुन सकेको छैन।

खेल क्षेत्रका सरोकारवालाहरूले राजधानीबाहिर खेल पूर्वाधार विकासमा देखिएको केन्द्रीकृत सोचका कारण पनि पोखरा जस्ता शहरमा आवश्यक सुविधा विस्तार हुन नसकेको बताएका छन्। ‘फ्लड लाइट’ नहुँदा पोखरामा रात्रिकालीन खेल गतिविधि सञ्चालन गर्न कठिन भइरहेको उनीहरूको भनाइ छ। अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को मान्यता प्राप्त प्रतियोगिता सञ्चालनका लागि पनि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य मानिन्छ।

हाल १६ हजार ५०० दर्शक क्षमता रहेको पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ जडानका लागि करिब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले बजेट अभावका कारण हालसम्म काम अघि बढ्न नसकेको जनाएको छ। राष्ट्रिय खेलकुद परिषद्ले केही वर्षअघि यसका लागि छुट्याएको पाँच करोड रुपैयाँ बजेट कोभिड–१९ महामारीका कारण काम हुन नसकी फिर्ता भएको थियो।

खेल क्षेत्रका सरोकारवालाले अन्तरराष्ट्रिय स्तरको रङ्गशाला भएर पनि ‘फ्लड लाइट’ नहुँदा यसको पूर्ण उपयोग हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। साँझ रातिको समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सकेमा कामकाजी तथा जागिरे वर्गले पनि खेल हेर्न सहभागी हुन सहज हुने उनीहरूको भनाइ छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष दीनानाथ बरालका अनुसार प्रतियोगिता मात्र नभई रात्रिकालीन अभ्यासका लागि पनि ‘फ्लड लाइट’ अत्यावश्यक छ, तर यस विषयमा राज्यका सम्बन्धित निकायले पर्याप्त ध्यान दिन सकेका छैनन्।

तीन वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि नै ‘फ्लड लाइट’ जडान गर्ने प्रतिबद्धता पनि पूरा हुन सकेन। करिब एक अर्ब २८ करोड रुपैयाँको लगानीमा वर्षअघि निर्माण गरिएको यस रङ्गशालाको दर्शक क्षमता आगामी दिनमा बढाएर २० हजार पुर्‍याउने सरकारी योजना रहेको छ।

प्रतिक्रिया