क्यानडा
शीतकालीन ओलम्पिकअन्तर्गत कर्लिङ प्रतियोगितामा ‘नियम उल्लङ्घन’ सम्बन्धी विवाद उत्पन्न भएपछि क्यानडाली टोली दबाबमा परेको छ भने देशभर खेलको नैतिकतामाथि बहस सुरु भएको छ।
विवाद तब सुरु भयो जब स्विडेनका खेलाडीले क्यानडाका कर्लर मार्क केनेडीमाथि ढुंगा फ्याँक्ने क्रममा दोस्रो पटक छोएको अर्थात् “डबल टच” गरेको आरोप लगाए। खेलकै क्रममा दुवै खेलाडीबीच भनाभन समेत भएको थियो। केनेडीले आरोप अस्वीकार गर्दै आफू र टोलीमाथि योजनाबद्ध आरोप लगाइएको बताएका छन्।
भोलिपल्ट क्यानडाको महिला टोलीकी कप्तान रेचल होमनमाथि पनि यस्तै आरोप लगाइयो। उनले नियम उल्लङ्घन हुने सम्भावना नै नभएको दाबी गरे पनि खेल अधिकारीले उनको ढुंगा खेलबाट हटाएका थिए। उक्त खेलमा क्यानडा स्विट्जरल्यान्डसँग ८–७ ले पराजित भयो।
विश्व कर्लिङ महासंघले अगाडि बढिरहेको अवस्थामा ढुंगाको ग्रेनाइट भाग छोए नियम उल्लङ्घन मानिने स्पष्ट पारेको छ। त्यसपछि खेलमा निगरानी कडा बनाइएको छ, यद्यपि भिडियो पुनरावलोकन प्रणाली प्रयोग गरिएको छैन।
क्यानडामा यस घटनाप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। धेरै समर्थकले खेलमा इमानदारी महत्वपूर्ण हुने बताएका छन् भने केहीले आरोप अतिरञ्जित भएको बताएका छन्। खेल विश्लेषकहरूले विश्व कर्लिङमा क्यानडाको प्रभाव ठूलो भएकाले क्यानडाली खेलाडीको व्यवहारले अन्य देशका युवा खेलाडीमाथि असर पार्ने चेतावनी दिएका छन्।