म्याग्दी
चौरासी वर्ष पुगेको अवसरमा बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले स्थानीय विद्यालयलाई रु पाँच लाख आर्थिक सहयोग प्रदान गरेका छन्।
बेनी नगरपालिका–१ रत्नेचौर निवासी भीमबहादुर थापामगर र भीमकुमारी थापामगरको ८४ पूजाको अवसर पारेर बिहीबार उक्त रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो।
थापामगर दम्पतीका छोरीहरू लक्ष्मी थापामगर, कमलकुमारी थापामगर, सुनिता थापामगर, सविना थापामगर, हरिकुमारी थापामगर र सरिता थापामगरले संयुक्त रूपमा सहयोग रकम प्रदान गर्नुभएको विद्यालयका प्रधानाध्यापक विनोद थापाले जानकारी दिनुभयो। उक्त रकम दिदीबहिनीहरूले स्थापना गरेको ‘भीमबहादुर–भीमकुमारी अक्षयकोष’मा राखी त्यसबाट प्राप्त ब्याज विद्यालयको शैक्षिक तथा भौतिक विकासमा खर्च गरिने बताइएको छ।
रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष टेकबहादुर थापा तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख दलबहादुर थापाको उपस्थिति रहेको थियो। कार्यक्रममा सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयको विकासमा यस्ता सामाजिक सहयोगले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।