काठमाडौँ,
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज बस्ने भएको छ। दिउँसो २ बजे सिंहदरबारस्थित नयाँ संसद् भवनको निर्माणाधीन बहुउद्देश्यीय हलमा बैठक सुरु हुनेछ। बैठकमा विभिन्न राष्ट्रिय दलका शीर्ष नेताहरूले आफ्ना मन्तव्य राख्ने सहमति दलहरूबीच बनेको छ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसतर्फ भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन्। कांग्रेस सभापति गगन थापा लगायतका वरिष्ठ नेताहरू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका र संसदीय दलको नेता चयन नभएका कारण आङ्देम्बेलाई सम्बोधनको जिम्मेवारी दिइएको हो।
त्यस्तै, नेकपा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बैठकमा मन्तव्य राख्ने कार्यक्रम छ।
साथै, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने तय भएको सचिवालयले जनाएको छ।