काठमाडौँका तत्कालीन सीडीओ रिजालमाथि बानेश्वर घटनाको आरोप, पक्राउ परे

mayukarajkumari

काठमाडौं, 

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। यसअघि सोही प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि रिजाल तेस्रो व्यक्तिका रूपमा नियन्त्रणमा लिइएका हुन्।

प्रहरीले उनलाई मंगलबार बिहान काठमाडौँको सुविधानगर क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ। भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले घातक बल प्रयोग गर्दा भएको मानवीय क्षतिको जिम्मेवारी ठहर गर्दै उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसअनुसार उनी पक्राउ परेका हुन्।

गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले तत्कालीन प्रजिअ रिजाललाई दोषी ठहर गर्दै उनीविरुद्ध फौजदारी मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै सम्बन्धित व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

आयोगको प्रतिवेदनअनुसार, बानेश्वरमा करिब चार घण्टासम्म सुरक्षाकर्मीले लगातार गोली चलाउँदा पनि स्थिति नियन्त्रण गर्न र बल प्रयोग रोक्न प्रभावकारी पहल नगरेको भन्दै रिजालमाथि गम्भीर लापरवाहीको आरोप लगाइएको छ। कर्फ्यु आदेश जारी भए तापनि सुरक्षा निकायहरूबीच समन्वय गर्न नसकेको र बल प्रयोगका मापदण्ड पालना गराउन असफल भएको निष्कर्ष आयोगले निकालेको छ।

आयोगले मुलुकी अपराध संहिता, २०७४ को दफा १८२(१) अनुसार कानुनी कारबाही गर्न सिफारिस गर्दै घटनामा अधिकारीहरूको लापरवाहीका कारण ठूलो मानवीय क्षति भएको ठहर गरेको थियो।

तर, पक्राउ परेका रिजालले भने आफूले घातक हतियार प्रयोग गर्ने आदेश नदिएको दाबी गरेका छन्। उनले संसद भवनको सुरक्षा र प्रदर्शनकारीको ज्यान जोगाउने ‘डुअल अब्जेक्टिभ डक्ट्रिन’ अनुसार न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको र अन्तिम विकल्पका रूपमा घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउन मात्र मौखिक आदेश दिएको बताए।

रिजालका अनुसार प्रदर्शनकारीहरू संसद भवनतर्फ बढेपछि उनले तत्कालीन गृहमन्त्री, मुख्यसचिव र गृहसचिवलाई जानकारी गराउँदै उनीहरूको निर्देशनमा कर्फ्यु लगाइएको थियो। साथै, उनले सुरक्षाकर्मीलाई संयमता अपनाउन र मानवअधिकारको ख्याल गर्न पटक–पटक निर्देशन दिएका थिए। यद्यपि आयोगले भने उनलाई उक्त घटनाको जिम्मेवारीबाट उन्मुक्ति दिन नमिल्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया