काठमाडौँ,
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउने प्रयास स्थानीय प्रशासनले रोकिएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति पुगेको उक्त भवन भत्काएर नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्देशनमा काम रोकिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, भत्काउने कार्य रोकिएपछि त्यहाँ कार्यरत कामदारहरूलाई हटाइएको छ। आगजनीपछि जलेको घरबाट फेला परेको डलर र नेपाली रुपैयाँ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सङ्कलन गरी सुरक्षित राखेको छ।
उच्च सरकारी स्रोतका अनुसार, शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ। प्रशासनले भत्काउने काम रोक्दा अनुसन्धान प्रक्रियामा कुनै बाधा नपरोस् भनी विशेष सावधानी अपनाएको जनाइएको छ।