चैत्र शुक्ल अष्टमीमा राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा तथा दर्शन

mayukarajkumari

काठमाडौँ,

रामचन्द्र पौडेल
ले चैत्र शुक्ल अष्टमीका अवसरमा सेतो मच्छेन्द्रनाथको रथमा पुगेर पूजा–आराधना तथा दर्शन गर्नुभएको छ। रथ असनमा ल्याइएपछि बिहीबार राति करिब १० बजे राष्ट्रपति पौडेलले उपस्थित भई पूजा गर्दै प्रसाद ग्रहण गर्नुभएको हो। असनमा रथ ल्याइएपछि राष्ट्राध्यक्ष स्वयं उपस्थित भएर दर्शन गर्ने परम्परा रहिआएको छ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ निर्माण गरी चैतेदसैँदेखि तान्ने चलन छ। यस रथलाई नागराजको प्रतीकका रूपमा मानिन्छ। हरेक वर्ष यो जात्रा सम्पन्न भएपछि वर्षा र सहकाल हुने धार्मिक विश्वास रहँदै आएको छ। रथ पहिलो दिन असन ल्याइएपछि दोस्रो दिन वसन्तपुरस्थित कालभैरव मन्दिर अगाडि पुर्‍याइन्छ भने तेस्रो दिन लगनसम्म लैजाने परम्परा छ। लगनमा रहेको मच्छेन्द्रनाथकी आमाको मन्दिर वरिपरि रथ तीनपटक घुमाइन्छ।

दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने यस रथयात्रामा हजारौँ श्रद्धालुको सहभागिता रहने गरेको छ। बिहीबार साँझ केलटोलबाट देवताको खट ल्याई रथमा स्थापना गरेपछि यात्रा सुरु गरिएको थियो। असन, वसन्तपुर, जैसीदेवल र लगन हुँदै पुनः मच्छेन्द्रवहालमा रथ ल्याएर जात्रा सम्पन्न गरिन्छ। रथ निर्माणका लागि आवश्यक काठ तथा अन्य सामग्रीको व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ।

यस अवसरमा कुमारीलाई समेत तीनधारा पाठशाला परिसरमा ल्याएर विधिपूर्वक रथयात्रा प्रारम्भ गरिएको थियो। काठमाडौँ महानगरपालिका–२५ का पूर्वअध्यक्ष तथा सेतो मच्छेन्द्रनाथका पुजारी नीलकाजी शाक्यका अनुसार परम्पराअनुसार विधि पूरा गर्दै जात्रा सञ्चालन गरिएको हो। काठमाडौँमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न भएपछि ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुने परम्परा रहेको छ।

प्रतिक्रिया