भक्तपुरमा दशौँ कृषि, औद्योगिक तथा व्यापार महोत्सव सुरु

mayukarajkumari

भक्तपुर,

नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/८३’ आजदेखि सुरु भएको छ। महोत्सवको आयोजना औद्योगिक शान्ति नेपाल संस्थाले सल्लाघारीमा गरेको हो। संस्थाका अध्यक्ष सन्दीप महत का अनुसार महोत्सवमा १८० विभिन्न प्रदर्शनी कक्ष राखिएको छ। उनले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा विभिन्न सामान उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए।

महोत्सवमा दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्। साथै औद्योगिक उत्पादन, हस्तकला, काष्ठकला, माटोका भाडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रविधि, अटो मोबाइल, विद्युतीय कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामान, व्यापार र पर्यटकीय सामग्रीको प्रदर्शनी समेत राखिएको छ।

कार्यक्रमको उद्देश्य स्थानीय उत्पादनलाई बजार प्रवद्र्धन गर्नु, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्डका सामान सुपथ मूल्यमा उपलब्ध गराउनु र भक्तपुरको कला, संस्कृति तथा सांस्कृतिक परम्पराको प्रचार गर्नु रहेको छ। महोत्सवका संयोजक दीपक थाप का अनुसार करिब पाँच लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ। बिक्री हुने सामानमा २०–५० प्रतिशतसम्म छुट दिइने व्यवस्था गरिएको छ। महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग तथा पाँच वर्षमुनिका बालबालिकाको प्रवेश निःशुल्क हुनेछ।

महोत्सवको मुख्य आकर्षणका रूपमा ‘लन्डन ब्रिज’देखि राष्ट्रियस्तरका चर्चित गायक–गायिकाका सङ्गीत प्रस्तुति रहनेछ। उत्कृष्ट बाल उद्यान, रोटी पिङ्ग, ड्रागन ट्रेन, नाव तथा बच्चाका खेलौनासहित विभिन्न प्रकारका खाना महोत्सवमा उपलब्ध हुनेछन्। दैनिक रूपमा गीत, सङ्गीत, हाँस्य व्यङ्ग्य, फेसन शो र नृत्य प्रतियोगिताले महोत्सवलाई थप रोचक बनाउने अध्यक्ष महतले बताउनुभयो। महोत्सव वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया