काठमाडौं
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अवसरमा आजदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ। यस निर्णय उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा पारित सुरक्षा योजनाअनुसार गृह मन्त्रालयमार्फत लागू गरिनेछ। आयोगले जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्वाचन आचारसंहिता पालनामा कडाइ गर्न निर्देशन दिएको छ।
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन, जस्तै एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार साधन, सुरक्षा निकायका सवारी, विद्युत् तथा खानेपानी मर्मतका साधन निर्वाध सञ्चालन हुनेछन्। दूरसञ्चार सेवा मर्मतका सवारी र कूटनीतिक नियोगका सवारी पनि अनुमति प्राप्त हुनेछ। तर, सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लाग्ने आयोगले जनाएको छ।
अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत सञ्चालन हुने व्यवस्था गरिएको छ। टिकटधारी यात्रुलाई विमानस्थलदेखि घर वा होटलसम्म र फर्किँदा आवश्यक सवारी व्यवस्था मिलाइनेछ। मतदानमा सहभागी मतदाताले आफ्नो मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपत्र वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एक कागजात देखाएर मतदान गर्न सक्नेछन्।
निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट मतदान दिनका लागि विशेष सवारी पास वितरण गर्न सचिवालय परिसरमा पास वितरण एकाइ स्थापना गरिनेछ। आयोग र जिल्ला प्रशासन कार्यालयका कर्मचारीले संयुक्त रूपमा पास वितरणको व्यवस्था गर्नेछन्, जसले मतदान प्रक्रिया व्यवस्थित र सहज रूपमा सञ्चालन हुने सुनिश्चित गर्नेछ।