काठमाडौं,
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरूले सङ्घीय सरकारसँग माग गरेका छन्। सोमबार भैरहवामा आयोजित सिद्धार्थनगर नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनीहरूले अर्बौं लगानीमा निर्माण गरिएको विमानस्थल लामो समयसम्म सञ्चालनमा नआउँदा क्षेत्रीय विकास प्रभावित भएको उल्लेख गरे।
कार्यक्रममा नगरप्रमुख इश्तियाक अहमद खाँले विमानस्थल सञ्चालन ढिलाइ गर्न नहुनेमा जोड दिँदै यसको शीघ्र सञ्चालनले देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भगवान् गौतमबुद्धको नाममा निर्माण गरिएको यस विमानस्थल सञ्चालनमा आएपछि पर्यटक आगमन बढ्ने र मुलुकको समग्र विकासमा टेवा पुग्ने बताउनुभयो।
उहाँका अनुसार लुम्बिनी क्षेत्रको विकासले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ। “विमानस्थल नियमित सञ्चालनमा आए भैरहवा मात्र नभई देशकै विकासमा महत्वपूर्ण योगदान पुग्छ,” उहाँले भन्नुभयो।
यसैगरी, नगर प्रवक्ता मुक्तिनाथ यादवले विमानस्थल सञ्चालन नहुँदा स्थानीय उद्योगी–व्यवसायीहरू समस्यामा परेको बताउँदै तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले स्थानीय सरकारका तर्फबाट पनि विमानस्थल सञ्चालनका लागि पहल जारी राखिने जानकारी दिनुभयो।