राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ सदस्य केसीलाई शपथ

mayukarajkumari

काठमाडौँ,

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ।

राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले केसीलाई शपथ गराउनुभएको हो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत तथा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा मन्त्रीहरू, नव निर्वाचित सांसदहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संसद् बैठक आह्वान गर्ने तयारी भइरहेको सन्दर्भमा ज्येष्ठ सदस्य केसीले आज शपथ लिनुभएको हो। ७८ वर्षीय केसीले भोलि बिहीबार प्रतिनिधिसभाका बाँकी २७४ जना नवनिर्वाचित सदस्यलाई शपथ गराउनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

नयाँ सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्यका हैसियतमा केसीले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नुहुनेछ।

प्रतिक्रिया