नेपाली चलचित्र उद्योगका लागि २०८२ सुखद वर्ष, व्यापार र दर्शक दुवैमा वृद्धि

mayukarajkumari

काठमाडौँ,  

चलचित्र विकास बोर्ड
का अनुसार विसं २०८२ नेपाली चलचित्र उद्योगका लागि समग्रमा उत्साहजनक वर्ष बनेको छ। यस वर्ष विषयवस्तुमा आधारित चलचित्रसँगै ‘स्टारडम’ भएका कलाकारका फिल्मले पनि दर्शकको राम्रो साथ पाएका छन्, जसले गर्दा विभिन्न प्रकारका चलचित्र हेर्न दर्शकहरू हलसम्म पुगेका छन्।

बोर्डका अनुसार यस वर्ष दुई सय ३० वटा नयाँ चलचित्र दर्ता भएका छन् भने ९४ चलचित्रले जाँचका लागि सिफारिस प्राप्त गरेका छन्। हालसम्म ५६ स्वदेशी र ९३ विदेशी चलचित्र प्रदर्शन भइसकेका छन्। चैत २७ मा प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’सँगै यस वर्ष प्रदर्शन हुने नेपाली चलचित्रको सङ्ख्या ५७ पुग्नेछ। हाल नेपालमा १७२ चलचित्र भवन सञ्चालनमा रहेका छन् भने ४४ वटा वितरक संस्था सक्रिय रहेका छन्।

यस वर्ष नेपाली चलचित्र हेर्न ३७ लाखभन्दा बढी दर्शक हल पुगेका छन्, जसबाट करिब रु एक अर्ब आठ करोडभन्दा बढी व्यापार भएको छ। बोर्डअन्तर्गतको सिनेपा २ बक्सअफिसको तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ले रु १७ करोडभन्दा बढी कमाई गर्दै वर्षको सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ। दीपकप्रसाद आचार्यद्वारा निर्देशित उक्त चलचित्रले पारिवारिक कथावस्तुमार्फत दर्शकलाई हलसम्म तान्न सफल भएको थियो।

त्यसैगरी, ‘आ बाट आमा’ दोस्रो स्थानमा रहँदै रु १३ करोडभन्दा बढी कमाई गर्न सफल भएको छ भने ‘जेरी अन टप’ तेस्रो स्थानमा रहँदै रु १२ करोडभन्दा बढी व्यापार गरेको छ। प्रेमकथामा आधारित ‘ऊनको स्वीटर’ चौथो स्थानमा रहँदा ‘जारी २’ पाँचौँ स्थानमा रहेको छ। यसबाहेक ‘बलिदान’, ‘मोहर’, ‘हरिबहादुरको जुत्ता’, ‘माग्ने राजा’ र ‘माइतीघर’ पनि सर्वाधिक कमाई गर्ने शीर्ष १० चलचित्रभित्र परेका छन्।

चलचित्रकर्मीहरूका अनुसार यस वर्ष दर्शकले राम्रो कथा र सामाजिक विषयवस्तु भएका चलचित्रलाई प्राथमिकता दिएका छन्। निर्देशक तुलसी घिमिरे ले नेपाली समाज र परिवेश सुहाउँदो चलचित्र निर्माण गर्न सके घरेलु बजारमै राम्रो सम्भावना रहेको बताउनुभएको छ। उहाँका अनुसार दर्शकसम्म सही जानकारी पुग्ने हो भने नेपाली चलचित्र उद्योगले अझ ठूलो उपलब्धि हासिल गर्न सक्नेछ।

समग्रमा, विसं २०८२ नेपाली चलचित्र उद्योगका लागि सकारात्मक संकेत दिने वर्षका रूपमा स्थापित भएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया