आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

mayukarajkumari

मोरङ,

विराटनगरमा नेपाल–भारत सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी प्रेस विज्ञप्तिअनुसार मोरङ, झापा र सुनसरी जिल्ला तथा भारतका किसनगञ्ज, अररिया र सुपौल जिल्लाका उच्च अधिकारीहरूको सहभागितामा निर्वाचन सुरक्षासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो । बैठकले मतदान हुनुभन्दा ७२ घण्टा अगाडि सबै सीमा नाका पूर्ण रूपमा बन्द गर्ने सहमति गरेको जनाएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र भारतको अररिया जिल्लाका डिष्ट्रिक मजिस्ट्रेट विनोद दुहानको सह–अध्यक्षतामा सम्पन्न बैठकले निर्वाचन अवधिमा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै संयुक्त सीमा गस्तीलाई सशक्त बनाउने तथा सुरक्षा संयन्त्रलाई थप चुस्तदुरुस्त बनाउने निर्णय गरेको छ ।

त्यसैगरी सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशबीच निरन्तर समन्वय र सहकार्य गर्ने सहमति भएको छ । विशेषगरी तेस्रो देशका नागरिकहरूको अनधिकृत प्रवेश, लागुऔषध तथा मानव बेचबिखन, जाली नोट कारोबार, हतियार तथा नगद तस्करी नियन्त्रणमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता बैठकले जनाएको छ ।

प्रतिक्रिया