बिपी राजमार्ग अवरुद्ध, सवारी सञ्चालनमा रोक

mayukarajkumari

काभ्रेपलाञ्चोक, 

शुक्रबार साँझ परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग अन्तर्गतको अस्थायी सडक बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। विशेषगरी रोशी क्षेत्रको चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर डाइभर्सन बगाएपछि शुक्रबार साँझदेखि नै सवारी आवागमन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले शनिबार रातिदेखि राजमार्ग सञ्चालन नहुँदासम्मका लागि सवारी आवागमनमा पूर्ण रोक लगाएको जनाएको छ। वर्षा निरन्तर भइरहेका कारण अस्थायी रूपमा डाइभर्सन बनाएर सडक सञ्चालनमा ल्याउने प्रयास सफल हुन नसकेको प्रहरीको भनाइ छ। प्रहरी उपरीक्षक कोमल शाहका अनुसार रोशी खोलाको पानीको बहाव घटेपछि आइतबार बिहानदेखि पुनः डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याउने प्रयास गरिनेछ।

गत वर्षको बाढीपहिरोले क्षति पुर्याएको उक्त सडकखण्डमा बनाइएको १८ किलोमिटर डाइभर्सनमध्ये विभिन्न स्थानमा करिब चार किलोमिटर पुनः बगाएको डिभिजन सडक कार्यालय भक्तपुर ले जनाएको छ। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार शनिबार बिहानदेखि पुनर्निर्माण सुरु गरिए पनि लगातारको वर्षाका कारण काममा अवरोध उत्पन्न भएको छ। स्थायी रूपमा पुनर्निर्माण भइरहेको स्थानमा भने थप क्षति नभएको जनाइएको छ।

गत वर्ष असोज महिनामा आएको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो। तर शुक्रबार रातिको बाढीले पुनः ती संरचना बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो। बिरुवाडाँडा, कालढुङ्गा, चौकीडाँडा र मङ्गलटार क्षेत्रमा पहिरो र बाढीका कारण सडकका विभिन्न खण्डमा क्षति पुगेको छ।

यसैबीच, रोशी खोलामा आएको बाढीमा परी रोशी गाउँपालिका–७ निवासी करिब ४० वर्षीय कुन्साङ तामाङको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार उनी राजमार्ग निर्माण कार्यमा संलग्न सुपरभाइजर थिए। सोही घटनामा फसेका सात जनाको भने उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढीले एक मोटरसाइकल र एक विद्युतीय गाडी समेत बगाएको छ।

यता, राजमार्ग अवरुद्ध भएपछि ट्राफिक प्रहरीले शुक्रबार साँझदेखि नै सवारीसाधनलाई विभिन्न स्थानमा रोकेको थियो। धुलिखेलको काभ्रेभञ्ज्याङ र भकुण्डे तथा पूर्वतर्फ नेपालथोक र मङ्गलटार क्षेत्रमा सवारी ‘होल्ड’ गरी यात्रुलाई सुरक्षित राख्ने प्रयास गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया