काठमाडौँ,
गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी पोशाक उत्पादनका लागि नेपालमै कारखाना स्थापना गर्ने घोषणा गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गरी गुणस्तरीय कपडा उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो।
सम्बोधनका क्रममा मन्त्री गुरुङले अब प्रहरी महानिरीक्षक (आईजीपी)लाई मन्त्रालयका सचिवले नभई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गरिने उल्लेख गर्नुभयो। उक्त घोषणापछि नक्सालस्थित प्रहरी प्रधान कार्यालयको अडिटोरियम हलमा उपस्थित अधिकारीहरूले ताली बजाउँदै स्वागत गरेका थिए।
कार्यक्रमको अन्त्यतिर धन्यवाद मन्तव्य दिँदै प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले प्रहरी सेवामा जागिर छाड्ने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले जवानहरूलाई सेवामा टिकाइराख्न २० वर्षे सेवा अवधिलाई घटाएर १६ वर्षमा पेन्सन दिने प्रस्ताव लामो समयदेखि अलपत्र परेको जानकारी दिनुभयो। “मैले मेरा प्रहरीहरूलाई टिकाउन सकिनँ, यही नै अहिलेको मुख्य समस्या हो,” भन्दै उहाँ भावुक हुनुभएको थियो।
आईजीपी कार्की भावुक भएपछि हलमा केहीबेर सन्नाटा छायो। त्यसपछि गृहमन्त्री गुरुङ आफ्नो सिटबाट उठ्दै उपस्थित सबैलाई पनि उठ्न संकेत गर्नुभयो र आईजीपीको समर्थनमा ताली बजाउनुभयो। त्यसपछि हलमा उपस्थित सबै अधिकारीहरूले ताली बजाउँदै समर्थन जनाएका थिए।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग तथा डिजिटल फरेन्सिक प्रयोगशालाको समेत अवलोकन गर्नुभयो। विगतमा तल्लो दर्जाका प्रहरी कर्मचारीहरूले साधन–स्रोतको अभावमा काम गर्नुपरेको अनुभव स्मरण गर्दै उहाँले अब त्यस्तो अवस्था अन्त्य गरिने बताउनुभयो।
उहाँले प्रहरीलाई आवश्यक स्रोतसाधन उपलब्ध गराई प्रभावकारी रूपमा काम गर्न सक्ने वातावरण सिर्जना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, प्रहरीलाई हस्तक्षेपमुक्त राख्ने उल्लेख गर्दै गलत कामका लागि कुनै दबाब आए आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो।
ठूला सहरहरूमा हुने हुलदंगा नियन्त्रणका लागि पर्याप्त सुरक्षा सामग्री बिना प्रहरीलाई नपठाइने पनि मन्त्री गुरुङले स्पष्ट पार्नुभएको छ। हालैका केही घटनामा कमजोर तयारीका कारण सुरक्षामा कमजोरी देखिएको निष्कर्षसमेत सार्वजनिक भइसकेको छ।