काठमाडौँ,
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।
उहाँका अनुसार, बबरमहलमा केही प्रदर्शनकारीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका थिए र सो क्रममा प्रहरीसँग झडप भएको थियो। प्रहरीले लाठी प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका थिए। स्थिति नियन्त्रण गर्न प्रहरीले एक सेल अश्रुग्यास प्रहार गरेको भट्टराईले बताउनुभयो।
आज बिहान अध्यक्ष ओली पक्राउ भएपछि एमालेले कार्यकर्तालाई प्रदर्शनमा उत्रन निर्देशन दिएको थियो। काठमाडौँको माइतीघर, बबरमहल र सिंहदरबार दक्षिणगेट अगाडि एमालेका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए।