काठमाडौँमा वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालन तयारी

mayukarajkumari

काठमाडौँ, 

वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा (जनबहाःद्य जात्रा) सञ्चालनका लागि काठमाडौँ महानगरपालिका सक्रिय भएको छ। कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको बैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक कामको समन्वय, शान्ति सुरक्षा लगायतका विषयमा सम्बन्धित निकायसँग छलफल गरिएको छ।

जात्रा काठमाडौँ महानगरपालिकाका नौवटा वडा (१, १९, २०, २१, २३, २४, २५, २७ र २८) मा सञ्चालन हुने जनाइएको छ। बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले जात्रा सञ्चालनका लागि उपलब्ध गराइने सहयोग रकम रु १० लाखबाट रु २० लाख पुर्‍याइएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “जात्रामा सहभागी श्रद्धालुलाई गरिमामय उत्सवको अनुभूति गराउने दायित्व सबै मिलेर बहन गरौँ।”

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भने, “चुस्त सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा संयन्त्र परिचालन गर्नेछ। यात्राको भव्यता बढाउन स्थानीयदेखि साझेदार सबैसँग समन्वय गर्नु कामपाको दायित्व हो।”

जात्रा सञ्चालन हुने मार्गहरूको मर्मत, सुधार र सरसफाइसहित व्यवस्थापनको काम काठमाडौँ महानगरपालिकाले गर्नेछ। कामपाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले भने, “जात्रा अवलोकनका लागि सहज वातावरण बनाउने काम गरौँ।”

सेतो मच्छिन्द्रनाथका मूल पुजारी एवं कामपाका पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले भन्नुभयो, “यस जात्राको सन्देश विश्वसामु पुर्‍याउनु पर्नेछ। यसलाई अपनत्व गराउने गरी समन्वय गरौँ।”

जनबहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव बज्राचार्यका अनुसार यस वर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु हुनेछ। सोही दिन राति १०ः०० बजे राष्ट्रपति दर्शनका लागि असन आउनुहुने कार्यक्रम छ।

१३ गते साँझ ५ः०० बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ। १४ गते साँझ ५ः०० बजे हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगनसम्म पुर्‍याइनेछ। १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रूखको परिक्रमा गराइनेछ। रथ यात्राको अन्तिम दिन चैत १६ गते लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहालमा पुर्‍याइनेछ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट रथयात्रा सुरु भई काठमाडौँको जमलबाट प्रारम्भ भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ।

प्रतिक्रिया