काठमाडौँ,
सिरहा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रु सुरक्षालाई ध्यानमा राख्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ। बिहीबार एक सूचना जारी गर्दै प्रशासनले सबै यात्रीवाहक सवारीसाधनमा २० दिनभित्र सिसीटिभी जडान गर्नुपर्ने स्पष्ट गरेको हो।
जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान, मिर्चैया लगायत क्षेत्रबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यो नियम लागू हुनेछ। यात्राका क्रममा हुनसक्ने चोरी, दुव्र्यवहार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको समयसीमाभित्र सिसीटिभी जडान भए÷नभएकोबारे यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित अनुगमन गर्नेछन्। नियमको पालना नगर्ने सवारीसाधनलाई कानुनअनुसार कारबाही गरिने पनि निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।