आज आमाको मुख हेर्ने पर्व, देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै

mayukarajkumari

काठमाडौँ, 

वैशाख कृष्ण औँसीका अवसरमा मनाइने मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ। यस दिन सन्तानहरूले आफ्नी जन्मदात्री आमालाई मीठा परिकार खुवाउने, नयाँ लुगा लगाइदिने र आशीर्वाद लिने परम्परा रहेको छ।

शास्त्रीय परम्पराअनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा रहनुहुन्छ। त्यसैले आमाप्रति श्रद्धा, भक्ति र आदर प्रकट गर्ने तथा उहाँबाट आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई विशेष महत्वका साथ मनाइन्छ।

यस दिन छोराछोरीहरू बिहानै उठेर स्नान गरी आमालाई सम्मानपूर्वक भोजन गराउने र राम्रो लुगा लगाइदिने चलन छ। आमा नभएकाहरूले भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने परम्परा छ।

सनातन वैदिक मान्यताअनुसार प्रत्येक मानिसले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नुपर्ने विश्वास गरिन्छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने उक्ति मार्फत आमा र जन्मभूमिको महत्व अत्यन्त उच्च रहेको जनाइएको छ।

आमाले सन्तानलाई नौ महिनासम्म गर्भमा राखी जीवन दिने भएकाले उहाँको महत्व अरुभन्दा धेरै रहेको उल्लेख गरिएको छ। त्यसैले जीवित आमालाई खुसी पार्न मीठा परिकार र सम्मान अर्पण गरिन्छ भने दिवङ्गत आमाका नाममा तर्पण, पिण्डदान र सिदादान गरी श्रद्धाञ्जलि व्यक्त गरिन्छ।

यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका अन्तर्गत मातातीर्थ क्षेत्रमा विशेष मेला लाग्ने गर्दछ। मेलाको सम्पूर्ण तयारी पूरा भएको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिनुभएको छ।

प्रतिक्रिया