काठमाडौँ,
दिवङ्गत आमाको सम्झनामा मनाइने मातृभक्तिको पर्वका अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा श्रद्धालुहरूको भीड लागेको छ। बिहानैदेखि तर्पण, श्राद्ध, स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो बढेको स्थानीय प्रशासनले जनाएको छ।
चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार बिहान ३ बजेदेखि नै मातातीर्थ क्षेत्रमा स्नान, दान, श्राद्ध, तर्पण तथा पूजा गर्ने भक्तजनहरूको भीड बढ्दै गएको हो। दिवङ्गत आमाको आत्मशान्तिका लागि मातातीर्थ कुण्डमा स्नान गर्ने परम्परा रहेको छ।
आमा नहुने नरनारीहरूले बिहानै हरिहर (विष्णु र शिव)को दर्शन गरी पूजा गर्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार मातातीर्थ कुण्डमा स्नान गरे दिवङ्गत आमाको आत्मालाई शान्ति मिल्ने मान्यता छ।
यस अवसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’को मूर्ति पनि परिसरमा स्थापना गरिएको छ। हरेक वर्ष यस दिन दिवङ्गत आमाको सम्झनामा भक्तजनहरूले कुण्डमा स्नान गरी मीठा परिकार अर्पण गर्दै मातृदिवस मनाउने प्रचलन रहेको छ।
मेला व्यवस्थापनका लागि मातातीर्थ मेला व्यवस्थापन समिति तथा स्थानीय सामाजिक सङ्घसंस्थाहरू परिचालन गरिएको जनाइएको छ।