इरान संकट समाधानमा सहयोगी राष्ट्र सतर्क, तत्काल समाधान नदेखिएको विश्लेषण

mayukarajkumari


अमेरिकी
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनावबीच होर्मुज जलडमरूमध्य सुरक्षित गर्न नसके उत्तर अटलांटिक सन्धि संगठन (नाटो) को भविष्यका लागि नराम्रो हुने चेतावनी दिएका छन्। तर ट्रम्पको यस्तो अभिव्यक्तिले नाटोको भूमिकाबारे बहस सुरु भएको छ। बेलायती सेनाका पूर्व प्रमुख निक कार्टरका अनुसार नाटो मूलतः रक्षात्मक गठबन्धन हो कुनै एक सदस्य राष्ट्रले रोजेको युद्धमा सबैलाई सहभागी गराउने उद्देश्यले यसको स्थापना गरिएको थिएन।

युरोपेली नेताहरूले पनि ट्रम्पको भनाइप्रति सावधानीपूर्ण प्रतिक्रिया दिएका छन्। जर्मनीका सरकारी प्रवक्ताले इरानसँगको युद्ध नाटोसँग सम्बन्धित नभएको बताएका छन्। जर्मनीका रक्षा मन्त्री बोरीस पिस्टोरियसले पनि अमेरिकी शक्तिशाली नौसेनाले गर्न नसकेको काम केही युरोपेली युद्धपोतहरूले गर्न सक्ने अपेक्षा अव्यावहारिक भएको टिप्पणी गरेका छन्। उनका अनुसार यो युरोपेली देशहरूले सुरु गरेको युद्ध नभएकाले उनीहरू प्रत्यक्ष रूपमा संलग्न हुन इच्छुक छैनन्।

यद्यपि खाडी क्षेत्रमा उत्पन्न संकटको समाधान खोज्नु भने पश्चिमी राष्ट्रहरूका लागि अत्यावश्यक बन्दै गएको छ। इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्य लगभग अवरुद्ध गरेपछि विश्व ऊर्जा आपूर्ति अन्तर्राष्ट्रिय व्यापारमा ठूलो असर पर्ने चिन्ता बढेको छ। केही जहाजलाई मात्र आवतजावत गर्न दिइँदै आएको छ, जसमा मुख्यतः इरानले आफ्ना सहयोगी देशहरूलाई पठाउने तेल बोकेका जहाजहरू समावेश छन्।

यस संकट समाधानका लागि पश्चिमी देशहरूबीच छलफल जारी रहेको बताइएको छ। बेलायती प्रधानमन्त्री किर स्टार्मरले अमेरिका, युरोपेली खाडी क्षेत्रका साझेदारहरूसँग व्यवहारिक योजना बनाउन वार्ता भइरहेको तर अझै निर्णायक चरणमा नपुगेको बताएका छन्। खाडी क्षेत्रमा समुद्री बारुद हटाउने स्वचालित प्रविधि प्रयोग गर्नेबारे पनि विचार भइरहेको छ।

विशेषज्ञहरूका अनुसार समुद्रमा राखिएका बारुद हटाउने काम अत्यन्त जटिल समय लाग्ने प्रक्रिया हो। सन् १९९१ मा पहिलो खाडी युद्धपछि कुवेत आसपासको समुद्रबाट बारुद हटाउन पश्चिमी देशहरूलाई ५१ दिन लागेको थियो। विश्लेषकहरूले अहिले पनि त्यस्तै चुनौती देखिएको बताउँदै यो संकटको छिटो समाधान सम्भव नदेखिएको बताएका छन्।

प्रतिक्रिया