गाजा,
प्यालेस्टिनी सशस्त्र समूह हमासले आफ्नो प्रमुख सहयोगी इरानलाई खाडी क्षेत्रका देशमाथि आक्रमण नगर्न आग्रह गरेको छ। क्षेत्रीय युद्ध चर्किँदै गएको अवस्थामा हमासले इरानलाई छिमेकी मुलुकहरूलाई लक्षित नगर्न अपिल गरेको हो।
हमासले जारी गरेको विज्ञप्तिमा इरानलाई “छिमेकी देशहरूलाई निशाना बनाउनबाट जोगिन” आग्रह गर्दै क्षेत्रीय देशहरूले आपसी सम्बन्ध र भाइचारालाई जोगाउन सहकार्य गर्नुपर्ने उल्लेख गरेको छ। साथै हमासले अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरिरहेकाले इरानलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको पनि बताएको छ।
इरानले भने खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरेर प्रतिकारात्मक आक्रमण गरिरहेको दाबी गर्दै आएको छ। तर पछिल्ला दुई सातामा भएका ड्रोन र क्षेप्यास्त्र आक्रमणका कारण केही नागरिक संरचनासमेत प्रभावित भएका छन्।
पछिल्लो आक्रमणमा संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाहस्थित ऊर्जा संरचनामा ड्रोन प्रहार भएको थियो। क्षेत्रका विभिन्न देशमा भएका आक्रमणका कारण हालसम्म कम्तीमा १८ जनाको मृत्यु भएको बताइएको छ। तीमध्ये यूएई र कुवेतमा छ–छ जना तथा ओमान, साउदी अरब र बहराइनमा दुई–दुई जनाको ज्यान गएको छ।
इरान हमासको प्रमुख समर्थक मानिन्छ, जसले हमासलाई आर्थिक, सैन्य तथा राजनीतिक सहयोग गर्दै आएको छ। हमासले हालै अमेरिका र इजरायलले गरेको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएको घटनालाई पनि कडा शब्दमा निन्दा गरेको थियो।
हमास इरान नेतृत्वको ‘एक्सिस अफ रेसिस्टेन्स’ नामक समूहको सदस्य हो, जसले अमेरिका र इजरायलको प्रभावविरुद्ध गतिविधि सञ्चालन गर्ने गरेको छ। यसबीच गाजामा इजरायल र हमासबीच जारी युद्धपछि भएको युद्धविरामका बाबजुद पनि दुवै पक्षले एक–अर्कामाथि सम्झौता उल्लङ्घनको आरोप लगाइरहेका छन्। गाजास्थित हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएपछि हालसम्म ६४९ जनाको मृत्यु भइसकेको छ।