सिरहामा ग्यास अभावको बहानामा कालोबजारी बढ्दो

mayukarajkumari

सिरहा, 

जिल्लामा खाना पकाउने एलपी ग्यास अभाव भएको भन्दै केही बिक्रेताले कालोबजारी गर्न थालेको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन्। बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी निर्धारित मूल्यभन्दा दोब्बरभन्दा बढी रकम असुल्ने गरिएको उपभोक्ताहरूको आरोप छ। यसका कारण सर्वसाधारण तथा साना व्यवसायीहरू ठूलो समस्यामा परेका छन्।

लहानस्थित महाराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य लिन थालेका छन्। उहाँले दुई सिलिन्डर ग्यास किन्न जाँदा प्रतिसिलिन्डर चार हजार पाँच सय रुपैयाँ मागिएको बताउनुभयो। जबकि निर्धारित मूल्यमा दुई सिलिन्डरको जम्मा तीन हजार आठ सय २० रुपैयाँ मात्रै पर्नुपर्ने उहाँको भनाइ छ। अत्यधिक मूल्य मागिएपछि ग्यास नलिएर रित्तै फर्किनुपरेको उहाँले गुनासो गर्नुभयो।

सिरहा नगरपालिका–६ मा चिया–नास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि निर्धारित मूल्यमा ग्यास नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको बताउनुभयो। उहाँका अनुसार अहिले बजारमा एउटा सिलिन्डर ग्यास किन्न चार हजार पाँच सय रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ। यति महँगो मूल्यमा ग्यास किन्दा खर्च धान्न नसकिने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।

सरकारले निर्धारण गरेको खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार नौ सय १० रुपैयाँ रहेको छ। तर बजारमा भने त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ। उपभोक्ता अधिकारकर्मीहरूले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल बजार अनुगमन गर्न आग्रह गरेका छन्।

जिल्ला प्रशासन कार्यालय सिरहाले ग्यास कालोबजारी गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार बजार अनुगमनका लागि वाणिज्य कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरी अनुगमन गरिनेछ। कालोबजारी गरेको प्रमाणित भए कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो।

यसैबीच, नेपाल आयल निगमका स्थानीय वितरकहरूले ढुवानी तथा आपूर्ति व्यवस्थापनमा समस्या देखिएको बताएका छन्। साथै निर्वाचनका कारण तीन दिनसम्म सीमा नाका बन्द हुनु र उपभोक्ताहरूले पनि ग्यास भण्डारण गरेर राख्न थालेका कारण बजारमा अस्थायी अभाव देखिएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया