नेपालगञ्ज गोदाममा १९ हजार क्विन्टल चामल मौज्दात

mayukarajkumari

राँझा (बाँके), 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
को नेपालगञ्जस्थित गोदाममा हाल १९ हजार क्विन्टल चामल मौज्दात रहेको छ। गोदाममा जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरी विभिन्न प्रकारका चामल थन्किएको जनाइएको छ।

कम्पनीको नेपालगञ्ज शाखाका प्रमुख रामशरण लामिछानेका अनुसार जिरा मसिनो चामल पाँच हजार क्विन्टल, अरुवा मसिनो चामल पाँच हजार क्विन्टल र अरुवा मोटो चामल नौ हजार क्विन्टल मौज्दात रहेको छ। साथै, यसै वर्ष खरिद गरिएको र कुटाउन बाँकी रहेको १० हजार क्विन्टल धानसमेत भण्डारणमा रहेको उहाँले जानकारी दिनुभयो।

गोदाममा रहेको चामलको खुद्रा तथा थोक बिक्री भइरहेको छ। कर्णाली प्रदेश का विभिन्न जिल्लाबाट माग आएमा कम्पनीले चामल पठाउने व्यवस्था मिलाइएको छ। यसपटक चामलको मूल्य समायोजन हुँदा प्रतिक्विन्टल रु ५०० देखि ६०० सम्म घटेको प्रमुख लामिछानेले बताउनुभयो।

उहाँका अनुसार कम्पनीको चामल गुणस्तरीय हुने भएकाले उपभोक्ताको विश्वास कायम छ। स्थानीय बजारसँग प्रतिस्पर्धा गर्न मूल्य समायोजन गरिएको उहाँको भनाइ छ। कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगुजाजरकोट मा रहेका खाद्य डिपोहरूमा पर्याप्त चामल मौज्दात रहेकाले हाल कुनै अभाव नरहेको पनि उहाँले बताउनुभयो।

यस वर्ष बाँके जिल्ला मा कम्पनीले २० हजार क्विन्टल मात्र धान खरिद गरेको थियो। धेरै किसान धान बिक्रीका लागि आए पनि कोटा सीमित भएकाले सबैको धान खरिद गर्न नसकिएको जनाइएको छ। सरकारले यस वर्ष मोटा धान प्रतिक्विन्टल रु ३,४६३ र मध्यम धान प्रतिक्विन्टल रु ३,६२८ दरमा खरिद गर्ने मूल्य निर्धारण गरेको थियो।

प्रतिक्रिया