भद्रपुर (झापा),
मेची भन्सार कार्यालय ले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु ११ अर्ब ५८ करोड ६ लाख ३० हजार राजस्व सङ्कलन गरेको जनाएको छ। यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाई का अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म रु १२ अर्ब ५ करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो। फागुन महिनामा मात्रै रु १ अर्ब ६५ करोड ८० लाख ४ हजार राजस्व सङ्कलन भएको छ, जुन उक्त महिनाको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो।
आठ महिनाको अवधिमा विभिन्न शीर्षकअन्तर्गत राजस्व सङ्कलन भएको विवरण पनि सार्वजनिक गरिएको छ। भन्सार महसुल शीर्षकमा रु ४ अर्ब ८९ करोड ३३ लाख, निर्याततर्फ रु २२ करोड १७ लाख, अन्य भन्सारसम्बन्धी आयतर्फ रु ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्कतर्फ रु ६ लाख २९ हजार र कृषि सुधार शुल्कतर्फ रु १० करोड ९६ लाख राजस्व उठेको छ।
यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा रु २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार करतर्फ रु १ अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम करतर्फ रु १ लाख २१ हजार, मूल्य अभिवृद्धि कर (आयात) शीर्षकमा रु ४ अर्ब २० करोड १८ लाख ८७ हजार तथा हरित करतर्फ रु १३ करोड २३ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ।
कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेको जनाएको छ।