प्रतिकूल मौसम र किराको प्रकोपले मधेसमा गहुँ उत्पादनमा कमी

mayukarajkumari

धनुषा,

मधेस प्रदेशमा प्रतिकूल मौसम र किराको प्रकोपका कारण यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य कमी आएको छ। असिनापानी र हावाहुरीले गर्दा किसानको लगानी डुबेको छ भने ऋण तिर्ने चिन्ता पनि बढेको छ। कृषि ज्ञान केन्द्रले क्षतिको यकिन विवरण आउन बाँकी रहेको जनाएको छ।

मधेस प्रदेशमा धानपछि गहुँ दोस्रो मुख्य बालीका रूपमा लगाइन्छ। धनुषा जिल्लामा मात्र करिब ३४ हजार हेक्टर क्षेत्रमा गहुँ खेती गरिन्छ। तर यसपालि चैतको सुरुमा गहुँ पसाउने र पाक्ने बेला आएको असिनापानी र हावाहुरीले गर्दा बालीमा राम्रो दाना लागेको छैन।

कृषकहरू चर्को मूल्य तिरेर ट्र्याक्टरले जोतेको खेत, बोरिङबाट सिँचाइ, मलखाद र कडा परिश्रम गर्दा पनि लागत उठ्न नसक्ने अवस्थाबाट चिन्तित छन्। जनकपुर उपमहानगरपालिका–२३ का किसान विला शाहले भने, “समयमै बोरिङबाट पानी लगाएर मलखाद दिए पनि गहुँबाली राम्रो भएन। किराको प्रकोप र मौसम अनुकूल नहुँदा दाना पुष्ट भएन। यसपालि लगानी डुब्यो।”

मुखियापट्टीका रामजी यादव पनि असन्तुष्ट छन्। “हावाहुरीले गर्दा बाली सुक्यो, दाना कालो र अपुष्ट भयो,” उनले भने। नगराइन नगरपालिका–५ की ज्योति झा मुख्य आयस्रोत गुम्दा चिन्तित छिन्। “हामी खेतीमै आश्रित छौं। ऋण लिएर खेती गर्दा राम्रो उत्पादन नहुँदा के खाने र ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको छ,” उनले बताइन्।

धनुषामा हरेक वर्ष उत्पादनमा उतारचढाव देखिने गरेको छ। कृषि ज्ञान केन्द्रका तथ्याङ्क अनुसार केही वर्षमा प्रतिहेक्टर २.९० मेट्रिक टन दरले ९७ हजार १५० मेट्रिक टन उत्पादन भएको थियो भने केही वर्षमा ३.१० मेट्रिक टन प्रतिहेक्टर दरले १ लाख ३ हजार ८५० मेट्रिक टनसम्म उत्पादन भएको थियो। तर यसपालि प्रतिकूल मौसम, किराको प्रकोप, गुणस्तरीय बिउ, सिँचाइ र मलखादको अभावले उत्पादन घट्ने अनुमान गरिएको छ।

कृषि अधिकृत गणेश क्षेत्रीका अनुसार क्षतिको यकिन तथ्याङ्क अहिलेसम्म आएको छैन। “फाट्टफुट्ट रूपमा बोट लडेको देखियो, तर यथार्थ विवरण स्थानीय तहबाट आएपछि मात्रै भन्न सकिन्छ,” उनले बताए।

मधेस प्रदेश गहुँ उत्पादनमा देशभर अग्रणी मानिन्छ। प्रदेशभर १ लाख ७८ हजार ४३३ हेक्टर क्षेत्रमा प्रतिहेक्टर ३.३७ मेट्रिक टन दरले करिब ७ लाख ३१ हजार मेट्रिक टन गहुँ उत्पादन भएको तथ्याङ्क छ।

गहुँ पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। चिकित्सक डा. जयन्त मिश्रका अनुसार गहुँमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, भिटामिन ‘बी’ कम्प्लेक्स, म्याग्नेसियम र पोटासियम पर्याप्त मात्रामा पाइन्छ। पाचन प्रणाली सुधारका लागि गहुँ लाभदायक मानिन्छ।

तर, गहुँ जस्तो महत्वपूर्ण बालीमा सरकारले आवश्यक सेवा सुविधा नदिँदा र आश्वासन भाषणमै सीमित राख्दा किसानहरू निराश छन्। कृषि अनुकूल वातावरण नबन्नु किसानहरूलाई वैदेशिक रोजगारीतिर पलायन हुन बाध्य बनाउने प्रमुख कारण बन्दै गएको छ।

प्रतिक्रिया