नयाँ वर्षलाई उन्नति, प्रगति र सुशासनको आधार वर्ष बनाउनुपर्ने : पूर्वअध्यक्ष रेग्मी

mayukarajkumari

काठमाडौँ, 

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी नयाँ वर्षलाई भ्रष्टाचार निवारण, सुशासन प्रवर्द्धन, प्रभावकारी सेवा प्रवाह र समृद्धिको आधार वर्षका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ। नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले यस वर्षलाई नेपाली जनताको उन्नति र प्रगतिका लागि विशेष वर्ष बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।

पूर्वअध्यक्ष रेग्मीले नेपाली राजनीतिक इतिहासमा प्रजातन्त्र र जनअधिकारका लागि पटक–पटक आन्दोलन भए पनि भ्रष्टाचार नियन्त्रण र सुशासनका प्रतिबद्धता व्यवहारमा अपेक्षित रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गर्नुभयो। उहाँले यी विषयहरू लामो समयदेखि घोषणामा सीमित रहेको बताउनुभयो।

जेनजी आन्दोलनले मुख्य रूपमा भ्रष्टाचार निवारण र सुशासनको माग अघि सारेको उल्लेख गर्दै उहाँले आन्दोलनमा सहभागीहरूको त्याग र बलिदानको भावनाअनुसार अघि बढ्नु सबैको कर्तव्य भएको स्पष्ट पार्नुभयो। उहाँले त्यसको मर्मअनुसार राज्य र सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

पूर्वप्रधानन्यायाधीशसमेत रहनुभएका रेग्मीले वर्तमान सरकारको कार्यशैली सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै सुशासनको अर्थ विधिको शासन भएको बताउनुभयो। उहाँले नयाँ वर्षले सबैमा उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्दै राष्ट्र निर्माण र समग्र नेपालीको समृद्धिमा योगदान पुगोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया