मध्यपूर्वको अवस्थालाई मध्यनजर गर्दै खाडीस्थित नेपालीको तथ्यांक संकलन सुरु

mayukarajkumari

काठमाडौँ, 

मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलको खाडी क्षेत्रका नेपाली नियोगहरूले आवश्यक प्रचारप्रसार तथा समन्वय सुरु गरेका छन् । आपतकालीन अवस्थालाई मध्यनजर गर्दै नेपाली नागरिकको विवरण संकलनलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।

नेपाली दूतावास रियादले एक सूचना जारी गर्दै नेपाली नागरिकको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । दूतावासले साउदी अरेबियामा रहेका नेपाली श्रमिक तथा अन्य नागरिकलाई आफ्नो विवरण अनिवार्य रूपमा भर्न र आवश्यक सूचना उपलब्ध गराउन आग्रह गरेको छ ।

दूतावासका अनुसार विदेशस्थित नेपालीको अवस्थासम्बन्धी यथार्थ जानकारी संकलन गरी आवश्यक परेमा उद्धार, समन्वय वा अन्य कूटनीतिक पहलका लागि तयारी गर्न उक्त पोर्टल उपयोगी हुने विश्वास गरिएको छ । मन्त्रालयद्वारा तयार पारिएको सो पोर्टलमार्फत विशेषगरी साउदी अरेबियायमनमा रहेका नेपाली नागरिकको विवरण संकलन गरिने जनाइएको छ ।

यसैबीच, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संघसंस्थाहरूले पनि आपतकालीन अवस्थाका लागि सम्पर्क व्यक्ति तोकिएको जानकारी दिएका छन् । उनीहरूले समस्यामा परेका नेपालीलाई आवश्यक सहयोग र समन्वय उपलब्ध गराउन तयारी अवस्थामा रहेको जनाएका छन् ।

प्रतिक्रिया