सञ्चारमन्त्री विक्रम तिमिल्सिनाद्वारा कर्मचारीलाई जनमुखी सेवा प्रवाहमा काम गर्ने निर्देशन

mayukarajkumari

काठमाडौँ,

सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले कर्मचारीहरूलाई जनताले तत्काल अनुभूति गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ। मन्त्रीले मन्त्रालयको कामकारबाहीबारे जानकारी लिँदै सञ्चार मन्त्रालय सरकारको अनुहार भएको र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले जनमुखी काम गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री डा. तिमिल्सिनाले भन्नुभयो, “देशमा एउटा नयाँ राजनीतिक परिदृश्य देखिएको छ। निर्वाचनले हामीलाई अभूतपूर्व ‘म्यान्डेड’ दिएको छ र जनअपेक्षा धेरै छन्। त्यसैले जनताले तत्काल अनुभूति गर्नेगरी सरकारले काम गर्नुपर्ने दायित्व छ।” उहाँले नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक रहेको स्पष्ट गर्नुभयो।

उहाँले कर्मचारीहरूलाई सेवा प्रवाह छिटो र छरितो बनाउनुका साथै विवादित काम नगर्न निर्देशन दिनुभयो। “सेवाग्राहीले समस्या महसुस गर्नु अघि नै समाधान गरिसक्नुपर्छ। जनभावनालाई सम्मान गर्दै मुलुकलाई अगाडि बढाउन सबैले योगदान दिनुपर्छ,” मन्त्रीले भन्नुभयो।

सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्न उच्चपदस्त अधिकारीलाई तत्काल सुधार र दीर्घकालीन कार्ययोजना सहित काम अघि बढाउन आग्रह गरिएको छ। मन्त्रीले ‘डिजिटल डिभाइड’ हटाउने तथा आवश्यक ऐनको नयाँ मस्यौदा र सुधार चाँडो प्रस्तुत गर्न निर्देशन दिनुभयो।

त्यस अवसरमा सबै महाशाखा प्रमुखले आफ्नो क्षेत्रको वस्तुस्थिति, प्रगति, समस्या र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो। मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पनि जनचाहनाअनुरुप सेवा चुस्त, प्रभावकारी र गुनासो रहित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया