म्याग्दी,
प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा स्वदेश तथा विदेशबाट बिरामी र सर्वसाधारण आउने क्रम बढ्दै गएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे ग्यास्ट्रिक समस्याको प्राकृतिक उपचारका लागि यस वर्ष दोस्रो पटक तातोपानी कुण्डमा आउनुभएको छ। उहाँका अनुसार यसअघि तातोपानीमा स्नान र सेवन गरेपछि स्वास्थ्यमा सुधार आएको थियो। “ग्यास्ट्रिक समस्या दोहोरिन नदिन यसपटक पनि आएको हुँ,” उहाँले भन्नुभयो।
धवलागिरी गाउँपालिका–३ मुनाका बुद्धिमान पुन छाला सम्बन्धी समस्याको उपचारका लागि तातोपानी कुण्डमा आएको छ दिन भएको बताउनुहुन्छ। उहाँका अनुसार सुरुवाती दिनको तुलनामा स्वास्थ्यमा क्रमशः सुधार भइरहेको अनुभव भएको छ। त्यसैगरी चितवनको भरतपुरकी चमेली घर्ती क्षेत्री विगत दस वर्षदेखि प्रत्येक वर्ष एक हप्ता तातोपानी कुण्डमा प्राकृतिक उपचारका लागि आउने गरेको बताउनुहुन्छ। उहाँले तातोपानीमा स्नान गर्दा खाना नरुच्ने, अपच हुने र ढाड दुख्ने समस्या निको भएको अनुभव सुनाउनुभयो।
यस्तै अनुभवका कारण धेरै सर्वसाधारणका लागि सिंगा तातोपानी कुण्ड प्राकृतिक उपचारको भरोसायोग्य स्थल बनेको छ। सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार वार्षिक २० हजारभन्दा बढी व्यक्ति नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट समेत प्राकृतिक उपचारका लागि यहाँ आउने गरेका छन्। म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा करिब ५० डिग्री सेल्सियस तापक्रममा निस्कने बिरेनुनको गन्ध आउने तातोपानी संकलन गरेर बनाइएको पोखरीमा स्नानको व्यवस्था गरिएको छ। यस पानीमा स्नान गर्दा छाला, ग्यास्ट्रिक, वाथ तथा चोटपटक सम्बन्धी समस्या निको हुने जनविश्वास रहेको उहाँले बताउनुभयो।
तातोपानी कुण्डमा महिला र पुरुषका लागि छुट्टाछुट्टै समय तालिका बनाइएको छ। एक पटकमा करिब २५० जना स्नान गर्न सक्ने व्यवस्था गरिएको छ भने छोटो समय स्नान गर्ने र एकान्तमा स्नान गर्न चाहनेका लागि छुट्टै पोखरी पनि सञ्चालनमा ल्याइएको छ। स्नानपछि शरीरलाई न्यानो राख्न बाक्लो कपडाले बेर्ने चलन रहेको छ र धेरैले तातोपानी सेवन गर्ने पनि गर्छन्।
सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सदस्य मिना जुग्जाली गर्बुजाका अनुसार हाल दैनिक करिब एक हजार दुई सय जनाले तातोपानीमा स्नान गरिरहेका छन्। बिहान ५ः३० देखि साँझ ५ः३० बजेसम्म महिला र पुरुषका लागि छ वटा समूह बनाएर स्नानको व्यवस्था गरिएको छ। असोजदेखि वैशाखसम्मको समय तातोपानी स्नान गर्ने मुख्य याम मानिन्छ।
गत वर्ष नेपालका ६६ जिल्लाका साथै कोरिया, पोल्याण्ड, युक्रेन, स्कटल्याण्ड, रसिया, जापान र भारतबाट समेत गरी २० हजार ३४७ जना बिरामी तातोपानी कुण्डमा स्नानका लागि आएका थिए। आर्थिक वर्ष २०८०/०८१ मा १९ हजार ४०३ र २०७९/०८० मा १८ हजार जनाले यहाँ स्नान गरेका थिए।
तातोपानी स्नानका लागि आउने पाहुनाका कारण स्थानीय होटल तथा होमस्टेहरू भरिभराउ भएका छन्। होटल व्यवसायी समिति तातोपानीकी अध्यक्ष सिता घलेका अनुसार साना–ठूला गरी करिब २० वटा होटल सञ्चालनमा छन्। पाहुनाहरूले घरको कोठा र ग्यास भाडामा लिएर आफैं पकाएर बस्ने सुविधा पनि पाउने गरेका छन्। म्याग्दी नदीको असला माछा तातोपानी क्षेत्रको विशेष परिकारका रूपमा चिनिन्छ।