महोत्तरी,
मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै लोक आस्था र सूर्य उपासनाको महान् पर्व चैती छठ श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। चार दिनसम्म चल्ने यस पर्व आइतबारदेखि चतुर्थी तिथिबाट विधिपूर्वक सुरु भएको हो भने आज षष्ठी तिथिको साँझ यसको मुख्य पूजा सम्पन्न हुँदैछ।
आज साँझ व्रतालुहरू विभिन्न पोखरी, नदी तथा जलाशयमा पसेर अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ अर्पण गर्छन्। गहुँ र चामलको पीठोबाट तयार पारिएका ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायतका परिकार, विभिन्न फलफूल तथा पूजा सामग्री नाङ्लो र ढाक्कीमा सजाएर भक्ति गीत गाउँदै छठघाटसम्म लैजाने परम्परा रहेको छ। व्रतालुले दुवै हातमा पिठार, सिन्दूर र अक्षता राखी अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्ने चलन छ।
महोत्तरीका जलेश्वर, मटिहानी, गौशाला, बर्दिवास, औरही, मनरासिस्वा, लोहारपट्टी, रामगोपालपुर, बलवा र भंगाहा नगरपालिकासहित विभिन्न गाउँपालिकाका पोखरी, तलाउ तथा नदी किनारमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ। यस अवसरमा धार्मिक विधि, भक्ति गीत र सामूहिक सहभागिताले वातावरण उत्साहपूर्ण बनेको छ।
पर्वको पहिलो दिन ‘नहाय-खाय’ गर्दै व्रतालुले शारीरिक र मानसिक शुद्धता कायम गरेका थिए भने दोस्रो दिन ‘खरना’ पर्व मनाइएको थियो। खरनाको दिन दिनभर उपवास बसेर राति विशेष पूजा गरी प्रसाद ग्रहण गर्ने परम्परा छ। आज तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गरिनेछ।
धार्मिक विश्वासअनुसार पारिवारिक सुख, शान्ति, समृद्धि, स्वास्थ्य लाभ तथा मनोकामना पूरा होस् भन्ने कामनाका साथ छठ पर्व मनाइन्छ। पौराणिक कथनअनुसार महाभारत मा द्रौपदीसहित पाण्डवहरूले सूर्यदेवको आराधना गरेको उल्लेख पाइन्छ भने सूर्यपुराण अनुसार अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको विश्वास गरिन्छ।
छठ पर्व सामाजिक सद्भावको प्रतीकका रूपमा पनि विकसित हुँदै आएको छ। हिन्दू धर्मावलम्बी मात्र नभई मुस्लिम समुदायले पनि यस पर्वमा सहभागिता जनाउने परम्परा रहेको छ। पहिले तराई–मधेस क्षेत्रमा सीमित रहेको छठ पर्व अहिले काठमाडौँ, पोखरा, नारायणघाट, धरान र इटहरीजस्ता सहरहरूमा पनि व्यापक रूपमा मनाउन थालिएको छ।