दोस्रो आर्थिक गणना २०८२ : गणकलाई देशभर आजदेखि पाँचदिने तालिम सुरु

mayukarajkumari

काठमाडौँ

राष्ट्रिय तथ्याङ्क कार्यालय
ले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकहरूलाई आजदेखि देशभर पाँचदिने तालिम सुरु गरिएको छ। आर्थिक गतिविधिको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले उक्त तालिम कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यालयका अनुसार देशभर रहेका ८४ कार्यालयमार्फत एकैसाथ तालिम सञ्चालन भइरहेको छ। यसका लागि आवश्यक गणक छनोट प्रक्रिया पूरा भइसकेको छ भने सम्बन्धित स्थानीय तहहरूसँग आवश्यक समन्वय र पत्राचारसमेत सम्पन्न गरिएको जनाइएको छ।

बुधबार काठमाडौँमा नेपाल पत्रकार महासङ्घ सँगको सहकार्यमा आयोजित कार्यक्रममा उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछाने ले तालिम पाँच दिनसम्म सञ्चालन हुने र त्यसपछि गणकहरूलाई देशभर परिचालन गरिने जानकारी दिनुभयो।

उहाँका अनुसार तालिम सम्पन्न भएपछि आगामी २०८३ वैशाख २ गतेदेखि गणकहरू आर्थिक गणनाको कार्यमा खटिनेछन्। यसअघि नेपालमा पहिलो राष्ट्रिय आर्थिक गणना विसं २०७५ (वैशाख–जेठ) मा सञ्चालन गरिएको थियो।

प्रतिक्रिया