काठमाडौं,
लुम्बिनी प्राविधिक विश्वविद्यालय को केन्द्रीय कार्यालय अब बाँकेको खजुरा गाउँपालिका बाट सञ्चालन हुने भएको छ। यसअघि नेपालगञ्ज बाट सञ्चालन हुँदै आएको विश्वविद्यालयले स्थापना भएको करिब पाँच वर्षपछि स्थायी संरचना प्राप्त गरेको हो।
खजुरा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको १० कट्ठा जग्गासहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि प्रशासनिक कामकाज खजुराबाटै सञ्चालन हुने भएको हो। गाउँपालिकाका अध्यक्ष डम्बर विक ले विश्वविद्यालयका उपकुलपति प्रा डा विनोद ढकाल लाई भवन र जग्गाको स्वामित्वसम्बन्धी कागजात हस्तान्तरण गर्नुभएको हो।
अध्यक्ष विकले खजुरालाई शैक्षिक तथा स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। स्थानीयस्तरमा क्यान्सर अस्पताल र कृषि क्याम्पसले जस्तै यो विश्वविद्यालयले पनि समुदायको साथ र सहयोग पाउने उहाँको भनाइ छ।
उपकुलपति ढकालले भवनको आवश्यक मर्मत सम्भारपछि छिट्टै केन्द्रीय कार्यालय सञ्चालन गरिने जानकारी दिनुभयो। साथै विश्वविद्यालयका लागि करिब ५० बिघा जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र सो प्रक्रिया पूरा भएसँगै भौतिक पूर्वाधार निर्माणले तीव्रता पाउने उहाँले बताउनुभयो।
विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारी ले जग्गा प्राप्तिमा देखिएका कानुनी जटिलताका कारण प्रदेश सरकारले विनियोजन गरेको बजेट बर्सेनि फ्रिज हुँदै आएको उल्लेख गर्नुभयो। प्रारम्भमा ९४ बिघा जग्गाको प्रस्ताव गरिए पनि हाल ५० बिघामा सीमित गरिएको र सो सम्बन्धी फाइल सङ्घीय मन्त्रिपरिषद्को निर्णयको पर्खाइमा रहेको जानकारी दिइएको छ।
प्रदेश सरकारले २०७८ सालमा ‘विश्वविद्यालय ऐन’ जारी गरी यस विश्वविद्यालयलाई कानुनी मान्यता दिएको थियो। हालसम्म नेपालगञ्जमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको विश्वविद्यालयले प्राविधिक, सूचना प्रविधि तथा इञ्जिनियरिङ विषयका कक्षा सञ्चालन गरिरहेको छ। खजुरामा स्थायी संरचना प्राप्त भएसँगै विश्वविद्यालयको दीर्घकालीन उपस्थितिको सुनिश्चितता भएको छ।