नवलपरासी (बर्दघाट सुस्ता पश्चिम),
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ शान्तिचौरस्थित साविकको करदाता सेवा कार्यालयमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ। कार्यालय स्थापना भएसँगै जिल्लामा आर्थिक गणनासम्बन्धी कार्य औपचारिक रूपमा अघि बढाइएको छ।
जिल्ला आर्थिक गणना समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको नेतृत्वमा बसेको बैठकले कार्यालय स्थापना गर्ने निर्णय गरेको हो। जिल्ला आर्थिक गणना कार्यालय नवलपरासीका अधिकारी यज्ञमूर्ति भण्डारीका अनुसार चैत महिनाभरि गणनाका लागि आवश्यक आन्तरिक तयारी पूरा गरिनेछ। यस कार्यका लागि सात जना सुपरिवेक्षक र ४८ जना गणक खटिएका छन्।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित जिल्लाभरि दर्ता भएका तथा नभएका उद्योग, प्रतिष्ठान र साना–ठूला व्यवसायसम्म पुगेर गणना गरिनेछ। गणनाका क्रममा गणकलाई दुई प्रकारका फारम प्रदान गरिनेछ, जसमा सूचीकरण फारम र मुख्य प्रश्नावली फारम समावेश छन्।
भण्डारीका अनुसार कर्मचारी छनोट प्रक्रिया सम्पन्न भएपछि गणनामा संलग्न जनशक्तिलाई प्रशिक्षण दिइनेछ। त्यसपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म गणना कार्य सञ्चालन गरिने योजना छ। अभियान सफल बनाउन जिल्लास्तरीय अन्तरक्रिया, स्थानीय तहसँग सचेतना कार्यक्रम तथा अन्य समन्वयात्मक गतिविधि सञ्चालन गरिने जनाइएको छ।