न्यूयोर्क,
भविष्यका घटनाबारे बाजी लगाउने ‘प्रिडिक्शन मार्केट’ एपहरूमा युद्ध र राजनीतिक घटनासँग सम्बन्धित बाजी बढ्न थालेपछि ती प्लेटफर्ममाथि कडा नियन्त्रणको माग बढ्न थालेको छ। अमेरिका तथा अन्य देशमा सञ्चालन हुने यस्ता प्लेटफर्महरूमा हालै इरान, भेनेजुएला र इजरायलसँग सम्बन्धित घटनाबारे करोडौँ डलर बराबरको बाजी लगाइएको छ।
काल्शी र पोलिमार्केटजस्ता एपहरूमा प्रयोगकर्ताले खेलकुद मात्र होइन, राजनीतिक घटना, ब्याजदर परिवर्तन, युद्ध तथा विश्व नेताहरूको भविष्यजस्ता विषयमा पनि बाजी लगाउन सक्ने व्यवस्था छ। पछिल्लो एक वर्षमा मात्र यस्ता प्रिडिक्शन मार्केटमा ४४ अर्ब डलरभन्दा बढी कारोबार भएको बताइएको छ।
हालै केही प्रयोगकर्ताले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी पदबाट हट्ने वा मृत्यु हुने सम्भावनाबारे समेत बाजी लगाएका थिए। काल्शी प्लेटफर्ममा यससम्बन्धी करिब ५४ मिलियन डलर बराबरको कारोबार भएपछि कम्पनीले उक्त बजार बन्द गरेको थियो। अमेरिकाको कानुनअनुसार कसैको मृत्यु वा हत्या सम्बन्धी घटनामा आधारित व्यापार गर्न पाइँदैन।
समालोचकहरूले यस्तो गतिविधिले युद्धबाट नाफा कमाउने प्रवृत्ति बढाउने, राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने तथा गोप्य सूचनाको दुरुपयोग हुन सक्ने भन्दै सरकारलाई कडा कारबाही गर्न आग्रह गरेका छन्। उपभोक्ता अधिकारसम्बन्धी संस्था ‘पब्लिक सिटिजन’ले यस विषयमा औपचारिक उजुरीसमेत दर्ता गराएको छ।
तर प्रिडिक्शन मार्केट कम्पनीहरूले भने यस्ता ‘इभेन्ट कन्ट्र्याक्ट’हरूले व्यवसाय तथा लगानीकर्तालाई सम्भावित जोखिमको अनुमान गर्न मद्दत गर्ने दाबी गर्दै आएका छन्। अमेरिकाको कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनले पनि हालसम्म यी प्लेटफर्मलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने योजना अघि नबढाएको छ।
यसबीच केही कम्पनीहरूले शंकास्पद कारोबार नियन्त्रण गर्न आन्तरिक अनुगमन कडा बनाउने बताएका छन्। यद्यपि यस्ता एपहरू वास्तवमा आर्थिक बजार हुन् कि साधारण जुवाको नयाँ रूप भन्ने विषयमा अमेरिका भरि बहस तीव्र हुँदै गएको छ।