अष्ट्रेलियामा आश्रय मागेका इरानी महिला फुटबल टोलीका थप तीन सदस्य स्वदेश फर्कने निर्णय

mayukarajkumari

सिड्नी,

अष्ट्रेलियामा
मानवीय भिसा प्राप्त गरेका इरानको महिला फुटबल टोलीका थप तीन सदस्यले आश्रय माग्ने निर्णय परिवर्तन गर्दै स्वदेश फर्कने बताएका छन्। मानवअधिकारकर्मीहरूका अनुसार फर्कने निर्णय गर्नेहरूमा जाह्रा सोल्तान मेशकहकर, मोना हमौदी जाह्रा सरबाली रहेका छन्।

एशियन कप फुटबल प्रतियोगितामा सहभागी हुन अष्ट्रेलिया पुगेको इरानी टोलीले मार्च मा दक्षिण कोरियाविरुद्धको खेलअघि राष्ट्रिय गान नगााएपछि विवाद उत्पन्न भएको थियो। उक्त घटनापछि उनीहरूलाई इरानमा “युद्धकालीन देशद्रोही” भन्दै आलोचना गरिएको थियो, जसका कारण खेलाडीहरूको सुरक्षाबारे चिन्ता व्यक्त गरिएको थियो।

अष्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले सरकारले ती महिलालाई सुरक्षित भविष्यका लागि अवसर प्रदान गर्न सक्दो प्रयास गरेको बताएका छन्। उनले अष्ट्रेलियाले विकल्प उपलब्ध गराए पनि खेलाडीहरूले कठिन परिस्थितिमा निर्णय लिनुपर्ने अवस्था रहेको उल्लेख गरे।

इरानको खेल मन्त्रालयले पनि तीन सदस्य स्वदेश फर्कने निर्णय गरेको पुष्टि गरेको छ। सरकारी समाचार संस्था तस्निमका अनुसार उनीहरू मलेसियाको क्वालालम्पुर हुँदै बाँकी टोलीसँग पुनः भेट्न जाने तयारीमा छन्। मन्त्रालयले यो निर्णयलाई “राष्ट्रप्रतिको देशभक्ति”को रूपमा व्याख्या गरेको छ।

यसअघि अष्ट्रेलियामा बस्ने इच्छा व्यक्त गरेका सात सदस्यमध्ये अब तीन जना मात्र त्यहाँ रहने भएका छन्। एक खेलाडीले यसअघि नै स्वदेश फर्कने निर्णय गरिसकेकी थिइन्। प्रतियोगिताबाट बाहिरिएपछि इरानी महिला फुटबल टोलीका बाँकी सदस्यहरू मंगलबार अष्ट्रेलिया छाडेर स्वदेश फर्किएका छन्।

प्रतिक्रिया