हर्क साम्पाङको स्पष्टीकरण : मेरो नाममा कुनै सम्पत्ति छैन, आमाको नाममा पाखो मात्र छ

mayukarajkumari

काठमाडौँ, 

धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो नाममा कुनै पनि व्यक्तिगत सम्पत्ति नरहेको स्पष्ट पारेका छन्। पछिल्लो समय सम्पत्तिबारे चासो र चर्चा बढेपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफ्नो वास्तविक सम्पत्ति अवस्था सार्वजनिक गरेका हुन्।

साम्पाङका अनुसार आफ्नो नाममा कुनै व्यक्तिगत सम्पत्ति नभएको र पुर्ख्यौली सम्पत्तिको रूपमा खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखानेमा आमाको नाममा केही खेतबारी मात्र रहेको छ। उक्त स्थानमा पाखो, खरबारी, बाँस र उतिस घारी मात्र रहेको उनले बताएका छन्।

उनले आफ्नो पुर्ख्यौली सम्पत्ति भिरालो पाखोमा रहेको र दाजुभाइ तथा दिदीबहिनीबीच हालसम्म अंशबण्डा नभएको पनि स्पष्ट पारेका छन्। व्यक्तिगत कमाइका रूपमा वैदेशिक रोजगारीको समयमा बचत गरेको केही सुन तथा बैंकमा थोरै रकम मात्र रहेको उनले उल्लेख गरेका छन्।

साम्पाङले आफ्नो सम्पत्ति विवरण केही दिनभित्रै औपचारिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता पनि जनाएका छन्। पारदर्शिता र जनपक्षीय कामलाई प्राथमिकता दिँदै आएको दाबी गर्दै उनले सामाजिक सञ्जालमार्फत आएका प्रश्नको जवाफस्वरूप आफ्नो वास्तविक अवस्था सार्वजनिक गरेको बताएका छन्।

प्रतिक्रिया