काठमाडौँ,
चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शाहलाई आज पठाइएको बधाई सन्देशमा चिनियाँ प्रधानमन्त्रीले नेपाल र चीन पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएको उल्लेख गर्नुभएको छ। उहाँले कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षको अवधिमा ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’मा आधारित सम्बन्ध निरन्तर विकास हुँदै आएको बताउनुभएको छ।
यहाँस्थित चिनियाँ राजदूतावासका अनुसार प्रधानमन्त्री लीले नेपाल सरकारका सुशासनका प्रयासहरूमा चीनको पूर्ण समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सन्देशमा उहाँले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’लाई अगाडि बढाउन तथा विभिन्न क्षेत्रमा उच्चस्तरीय सहकार्य विस्तार गर्न प्रधानमन्त्री शाहसँग सहकार्य गर्न चीन तयार रहेको उल्लेख गर्नुभएको छ। साथै, विकास र समृद्धिका लागि चीन–नेपाल मैत्रीपूर्ण रणनीतिक सहकार्य साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि दोहोर्याउनुभएको छ।