तनहुँको महले पायो अन्तरराष्ट्रिय बजार, किसानमा नयाँ आशा

mayukarajkumari

काठमाडौँ, 

दमौली (तनहुँ) मा उत्पादन हुने मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि स्थानीय किसानमा उत्साह थपिएको छ। शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाम क्षेत्रमा उत्पादन हुने महले विश्वबजारमा स्थान पाउन थालेसँगै यहाँका कृषक मौरीपालनतर्फ अझ आकर्षित भएका हुन्।

सूर्य नेपाल प्रालिअन्तर्गत ‘हिमालयन ट्रेजर’ ब्रान्डले यहाँ उत्पादित मह खरिद गरी अन्तरराष्ट्रिय बजारमा बजारीकरण सुरु गरेको छ। प्रारम्भिक चरणमा दुई हजार १०० किलो मह प्रतिकिलो रु दुई हजारका दरले खरिद गरिएको जनाइएको छ। यस पहलले स्थानीय उत्पादनलाई विश्वस्तरमा पुर्‍याउने आधार तयार भएको मानिएको छ।

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत किसानलाई कफीका बिरुवा वितरण गर्दै बहुआयामिक कृषि प्रणालीलाई प्रोत्साहन गरिरहेको छ। यसबाट किसानको आयस्रोत विविधीकरण हुने र दीर्घकालीन रूपमा आर्थिक अवस्था सुदृढ हुने अपेक्षा गरिएको छ।

स्थानीय किसान सुरज वाग्लेले आफ्ना उत्पादनले अन्तरराष्ट्रिय बजारमा प्रवेश पाउनु गर्वको विषय भएको बताउनुभयो। उहाँका अनुसार बजार विस्तार भएमा किसानलाई मौरीपालनमै टिकिरहन थप प्रेरणा मिल्नेछ। यस क्षेत्रमा हाल पाँच सयभन्दा बढी किसान मौरीपालनमा संलग्न छन् भने राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सुरु भएको मौरीपालन पहलले यसको विस्तारमा महत्त्वपूर्ण योगदान दिएको छ।

महको गुणस्तर सुनिश्चित गर्न कम्पनीले नियमित रूपमा परीक्षण गर्दै आएको छ। कात्तिक महिनामा कटुस वनबाट सङ्कलित मह उच्च गुणस्तरको प्रमाणित भई विदेशी बजारका लागि उपयुक्त ठहरिएको जनाइएको छ। अगुवा किसान नन्दुथापा मगरका अनुसार यहाँ उत्पादित महको विदेशमा माग बढ्दो छ र यसले किसानको आम्दानीको प्रमुख स्रोतको रूपमा मौरीपालनलाई स्थापित गरेको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ क्षेत्र नं १ का सांसद डा स्वर्णिम वाग्लेले तनहुँमा उत्पादन भएको ‘कटुस’ मह अन्तरराष्ट्रिय बजारमा पुग्नु नेपालको आर्थिक सम्भावनाको उदाहरण भएको बताउनुभएको छ। उहाँले ‘मरानी चेष्टनट हनी’ ब्रान्डमार्फत उक्त मह विश्वबजारमा बिक्री सुरु भएको उल्लेख गर्दै गुणस्तरीय उत्पादन, आधुनिक प्याकेजिङ र प्रभावकारी बजारीकरणबाट नेपाली उत्पादनलाई उच्च मूल्यमा स्थापित गर्न सकिने सम्भावना उजागर भएको धारणा व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया