अमेरिका र इजरायलबीचको युद्ध इरानसम्म फैलिँदै गएपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ। यसैबीच जी–७ राष्ट्रहरूले विश्व बजारमा ऊर्जा आपूर्ति सुनिश्चित गर्न आवश्यक कदम चाल्न तयार रहेको बताएका छन्। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेपछि जी–७ का अर्थमन्त्रीहरू र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीबीच छलफल भएको हो।
बैठकमा रणनीतिक तेल भण्डारबाट तेल निकाल्ने विकल्पबारे पनि छलफल भए पनि तत्काल त्यस्तो निर्णय भने गरिएको छैन। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फातिह बाय्रोलले पछिल्ला दिनहरूमा विश्व तेल बजारको अवस्था बिग्रँदै गएको बताएका छन्। उनका अनुसार हर्मुज जलडमरुमा जहाज आवागमनमा समस्या आउनुका साथै केही क्षेत्रमा तेल उत्पादन पनि रोकिएको छ, जसले बजारमा थप जोखिम सिर्जना गरेको छ।
युद्धका कारण तेल आपूर्ति अवरुद्ध हुने चिन्ताले सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब १२० अमेरिकी डलरसम्म पुगेको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध छिट्टै अन्त्य हुन सक्ने संकेत दिएपछि मूल्य पुनः घटेर ९० डलरभन्दा तल झरेको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूसँग आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने एक अर्ब २० करोड व्यारेलभन्दा बढी सार्वजनिक तेल भण्डार रहेको बताइएको छ।
मध्यपूर्व क्षेत्रबाट ऊर्जा आपूर्तिमा ठूलो अवरोध आए विश्वभर उपभोक्ता र व्यवसायीका लागि ऊर्जा मूल्य बढ्न सक्ने अनुमान गरिएको छ। यसको प्रभाव मुद्रास्फीति बढ्नु र केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने योजना स्थगित गर्नुपर्ने अवस्थासम्म पुग्न सक्ने अर्थशास्त्रीहरूले बताएका छन्। विश्वको करिब पाँचौँ भाग तेल आपूर्ति सामान्यतया हर्मुज जलडमरुबाट हुने भए पनि युद्ध सुरु भएयता त्यहाँको जहाज आवागमन लगभग ठप्प भएको छ।
यसबीच अमेरिका र इजरायलले इरानका तेल भण्डारण केन्द्र र अन्य पूर्वाधारमाथि हवाई आक्रमण जारी राखेका छन् भने इरानले खाडी क्षेत्रका ऊर्जा संरचनालाई लक्षित गरी प्रतिआक्रमण गरिरहेको बताइएको छ। युद्ध लम्बिँदै गए तेल बजारमा थप अस्थिरता आउन सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन्।