दोधारा चाँदनी (कञ्चनपुर),
कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्स क्षेत्रमा मंगलबारदेखि बाघ गणना सुरु गरिएको छ। राष्ट्रिय स्तरमा गरिने बाघ गणनाअन्तर्गत यस क्षेत्रमा क्यामेरा ट्रयापिङ विधिबाट बाघको संख्या निर्धारण गर्ने कार्य सुरु भएको हो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गरिने परम्परा अनुसार यसपटक पाँचौँ पटक क्यामेरा ट्रयापिङ विधिबाट गणना गर्न लागिएको हो। उक्त क्षेत्रमा करिब १५ दिनसम्म सर्वेक्षण सञ्चालन गरिनेछ।
निकुञ्जका अनुसार बाघ आवतजावत गर्ने सम्भावित क्षेत्र पहिचान गरी बाटोको दायाँ–बायाँ स्वचालित क्यामेरा जडान गरिएको छ। संरक्षण अधिकृत वाग्लेले क्यामेराले खिचेको तस्बिरका आधारमा बाघको पहिचान गरी गणना गरिने जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्येक बाघको शरीरमा रहेका पाटाको ढाँचा फरक–फरक हुने भएकाले त्यसैका आधारमा बाघको संख्या निर्धारण गर्न सकिन्छ।
बाघ गणनाका लागि शुक्लाफाँटामा ७७ जनाको प्राविधिक टोली खटाइएको छ भने आवश्यक परेमा हात्तीसमेत परिचालन गरिनेछ। निकुञ्जले ११ वटा क्याम्प स्थापना गरी जनशक्ति परिचालन गरेको छ। २६० ग्रिडमा ५२० स्वचालित क्यामेरा जडान गरिएको छ, जहाँ प्रत्येक ग्रिडमा एक जोडी क्यामेरा राखिने व्यवस्था गरिएको छ।
निकुञ्जका अनुसार डडेल्धुराको आलितालमा २३ ग्रिड, शुक्लाफाँटाको बनखेडामा २३, वेदकोटमा २१, चिर्किट्टेमा १९, डाँडाजाइमा ३६, दोमिल्लामा ३१, कालिकिचमा २६, कुवा डाँडामा २३, नौलामा १६, शुक्लामा २३ र तिकेनीमा १९ ग्रिडमा क्यामेरा जडान गरिएको छ।
सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार शुक्लाफाँटा क्षेत्रमा ३६ वटा बाघ रहेको तथ्यांक छ। तर निकुञ्जको आन्तरिक सर्वेक्षणले यहाँ हाल करिब ४३ वटा बाघ रहेको देखाएको छ। पछिल्लो समय निकुञ्ज क्षेत्रमा बाघको संख्या उल्लेख्य रूपमा बढ्दै गएको संरक्षणकर्मीहरू बताउँछन्।
३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सानो क्षेत्रफलमै धेरै बाघ पाइने निकुञ्जका रूपमा परिचित छ। यहाँ बाघका आहारा प्रजातिहरूको घनत्व उच्च भएकाले पनि बाघको संख्या वृद्धि भएको संरक्षण अधिकृतहरूले बताएका छन्।