काठमाडौँ,
जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा आयोजना गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहानदेखि देशभर मतदान सुरु भएको छ। निर्धारित निर्वाचन कार्यतालिकाअनुसार बिहान ठीक ७ः०० बजेदेखि मतदान प्रक्रिया प्रारम्भ भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो।
निर्वाचन आयोगका अनुसार मुलुकका ७७ वटै जिल्लामा बिहान ७ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म एकै चरणमा मतदान हुनेछ। शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको जनाइएको छ।
‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरेका छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ भने एक हजार ३६३ पुरुष र एक हजार १,७७२ महिला गरी कुल तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान भइरहेको छ।
निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। साथै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको निर्वाचन आयोगले जनाएको छ।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ भने १४३ अस्थायी मतदानस्थल तोकिएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाइएको छ।
निर्वाचनको सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको छ। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहेको जनाइएको छ।