नवलपरासी,
गण्डकी प्रदेशका ११ जिल्लामध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन्। गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको तथ्याङ्कअनुसार उक्त जिल्ला प्रदेशमै क्षयरोगी सङ्ख्यामा पहिलो स्थानमा परेको हो।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा ३६२ जना नयाँ क्षयरोगी फेला परेका छन् भने सोही अवधिमा १६ जनाको मृत्यु भएको प्रादेशिक जनस्वास्थ्य कार्यालयले जनाएको छ। नयाँ संक्रमितमध्ये १४ वर्षमुनिका दुई जना बालबालिका रहेका छन्। हाल जिल्लामा ३६२ जना बिरामीले नियमित औषधि सेवन गरिरहेका छन्।
औषधि सेवन गरिरहेका बिरामीमध्ये आठ जना बहुऔषधि प्रतिरोध (डिआर) क्षयरोगी रहेका छन्, जसको मध्यविन्दु प्रादेशिक अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रूपमा उपचार भइरहेको छ। जिल्लामा क्षयरोग उपचारका लागि ७६ वटा डट्स केन्द्र सञ्चालनमा रहेका छन् भने डिआर बिरामीका लागि अस्पतालमा विशेष होस्टेलको व्यवस्था गरिएको छ।
गण्डकी प्रदेशका अन्य जिल्लामा चालु आवमा कास्कीमा ३३१, तनहुँमा १८३, स्याङ्जामा १६०, गोरखामा १३४, बागलुङमा १३०, लमजुङमा ६२, पर्वतमा ५२, म्याग्दीमा २९ र मुस्ताङमा १० जना क्षयरोगी भेटिएका छन्। गत आव २०८१/८२ मा भने नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा ६७२ जना क्षयरोगी फेला परेका थिए, जसमध्ये १५ जनाको मृत्यु भएको थियो।
जिल्लामा क्षयरोग खोज तथा पहिचानका लागि सञ्चालन गरिएको अभियानअन्तर्गत आठवटै पालिकामा ४ हजार ७७९ जनाको छाती एक्स–रे र ३२४ जनाको खकार परीक्षण गरिएको थियो। सोही अभियानबाट ९२ जना नयाँ बिरामी पहिचान भएका छन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार क्षयरोग एक सरुवा रोग हो, जुन श्वासप्रश्वासमार्फत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। समयमै उपचार गरे पूर्ण रूपमा निको हुन सक्ने भए पनि ढिलाइले जोखिम बढ्ने जनाइएको छ। बहुऔषधि प्रतिरोधी बिरामीको सङ्ख्या बढ्दै जानु क्षयरोग नियन्त्रणका लागि चुनौतीपूर्ण बन्दै गएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका केही देशमा मात्रै दुईतिहाइ क्षयरोगी रहेका छन्, जसमा भारत, इन्डोनेसिया, चीन र फिलिपिन्स अग्रस्थानमा छन्। नेपाललाई पनि उच्च जोखिमयुक्त देशहरूको सूचीमा राखिएको छ। सरकारले क्षयरोग न्यूनीकरणका लागि दर घटाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
आज विश्व क्षयरोग दिवस का अवसरमा नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। यस वर्षको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ तय गरिएको छ।